रकम ठगेको आरोपमा राजन आजपाबाट निष्कासित
२ साउन, रौतहट । आम जनता पार्टीले आफ्ना पार्टी सदस्य मनोज कुमार यादव (राजन)लाई पत्रकारसँग ठगी गरेको आरोपमा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
आजपा पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यादवमाथि गम्भीर आरोप लागेको जनाउँदै तुरुन्त कारबाही गरिएको जानकारी दिएको हो । मौलापुरमा खानेपानी आयोजना अन्तर्गत उपभोक्ता समितिले गरेको कामको रकम लिएर यादव फरार भएका थिए ।
संचारकर्मी समेत रहेका संजय सहनीले मौलापुरमा उपभोक्ता समिति मार्फत सम्पन्न गराएको खानेपानी आयोजनाको ९ लाख ६१ हजार रकम हार्डवेयर पसल तथा अन्यको बक्यौता तिर्न भनि मनोज यादवले लिएका थिए । उपभोक्ता समितिका अध्यक्ष बिरचन महराले मनोज यादवले लिएको रकम फिर्ता गर्नुपर्ने बताएका छन । “राजन भन्ने मनोज यादवले हामी सँग नगद रकम लिएर अहिले विभिन्न बहाना गर्दै रकम पचाउन खोजिरहेका छन ।” अध्यक्ष महराले भने “रकम लिएर पनि लिएको होइन भन्दै उल्टै पत्रकार सम्मेलनको नाममा भ्रम फैलाउने काम उनले गरेका छन ।” रकम फिर्ता नगरे कानूनी रुपमा आफूहरु अगाडी बढने समेत उनले बताए ।
झुक्याएर रकम लिइ केही दिन सम्पर्क विहिन बनेका उनी अहिले विभिन्न बहाना बनाउदै पैसा पचाउने दाउमा लागेको उपभोक्ता समितिका सदस्यहरुले बताए ।
यादवले पत्रकार ९ लाख ६१ हजार रुपैयाँ ठगी गरेको भन्ने उजुरी पार्टीको केन्द्रीय कार्यालयमा प्राप्त भएको थियो । उक्त मुद्दासँगै अन्य नेटवर्किङ कारोबारसँग सम्बन्धित व्यक्तिहरूले समेत पीडितको रूपमा यादवविरुद्ध आरोप लगाउँदै उजुरी दिएका थिए ।
पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै यथाशीघ्र आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै यादवलाई पार्टीको कार्यालय सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट हटाइएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्रभुषण साहले बताए ।






