आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन
२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमले मान्छेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा चलाइएको गम्भीर आपराधिक मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको छ।
उक्त मुद्दामा उच्च अदालत वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई निर्दोष ठहर गर्दै फैसला सुनाएको थियो। तर महान्यायाधिवक्ताको कार्यालयले सो फैसलासँग असहमति जनाउँदै पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको हो।
सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहेको महान्यायाधिवक्ता कार्यालयले आरोप प्रमाणित हुने आधार बलियो रहेको जनाउँदै हदैसम्मको सजायको माग गर्दै पुनरावेदन गरेको हो।
फैसला दिने न्यायाधीशहरूको नैतिक आचरणमाथि प्रश्न उठेको भन्दै न्याय परिषद्ले दुवै न्यायाधीशलाई सर्वोच्चमा तानेर छानबिन प्रक्रिया थालेको अवस्थामा पुनरावेदनले थप कानुनी बल पाएको छ।
यसअघि महान्यायाधिवक्ता रमेश बडालले पनि फैसलापछि असन्तुष्टि जनाउँदै सर्वोच्चमा पुनरावलोकनको तयारी भइरहेको बताएका थिए।
सामान्यतया, तल्लो अदालतको विवादास्पद वा अपवादपूर्ण फैसला हुँदा एक तह माथिको अदालतमा महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्न पाउने प्रावधान रहेको छ।






