लागुऔषध सहित २ जना युवक पक्राउ

   २ श्रावण २०८२, बिहीबार २०:१७  

१ साउन, रौतहट । अवैध लागुऔषध सहित २ जना युवकलाई प्रहरीले रौतहटको गौरबाट पक्राउ गरेको छ ।

गौर नगरपालिका १ मा रहेको शुभम होटल अगाडीबाट बिआर०५यू५८६० नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार २ युवकलाई चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो ।

पक्राउ पर्नेमा राजदेी नगरपालिका ८ का नितेश कुमार पंडित र पिन्टु कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुको साथमा मोटरसाइकलमा रहेको कालो रङ्गको झोलाबाट प्रहरीले ३ हजार थान नाइट्राभेट लगायतको ट्याबलेट र ९ सय थान फेनारगन सहितको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक रायले बताए ।

पक्राउ परेका दुवैजनालाई लागू औषध सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी रायले बताए ।