मधेस प्रदेश : कार्यदलको संयोजकबाट सभामुख मण्डलले गरे राजीनामा घोषणा

   २८ असार २०८२, शनिबार १६:३९  

२८ असार , काठमाडौं । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले बजेटमाथि छानबिनका निम्ति गठित कार्यदलको संयोजकबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

शनिबार (असार २८) प्रतिपक्ष दलका सांसदले कार्यदलका विषयमा प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । त्यसपछि उनले कार्यदलको संयोजकबाट राजीनामा दिएको बताएका हुन् ।

उनको संयोजकत्वमा गठित कार्यदलमा मन्त्रीको नाम राखिएपछि प्रतिपक्षी सांसदले प्रदेशसभामा अवरोध गरेका थिए । अवरोधपछि उनले कार्यदलले विभिन्न काम गर्नुपर्ने तर आफूसँग समय नरहेकाले संयोजक पदमा रहन नसक्ने बताए ।

प्रतिपक्षीको अवरोधका बाबजुत सभामुख मण्डलले सभा अघि बढाउन खोजेका थिए । अनि, प्रतिपक्षी सांसदहरुले रोस्ट्रम घेराउ गरेका थिए । त्यसपछि उनले सभा स्थगन गरे ।

बजेटमा भएको त्रुटि छानबिन गर्न तथा सदनको गतिरोध हटाउन केही दिनअघि प्रदेशसभाबाट ६ सदस्य कार्यदल गठन गरिएको थियो ।