भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
२२ असार, विराटनगर । भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन् । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए ।
तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ ।
घाइते अवस्थामा भेटिएका राईले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । ‘उनी बिस्तारै-बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर दीपक श्रेष्ठले बताए ।
गए राती करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए ।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।






