पक्राउ पुर्जी जारी हुदा पनि नापी कार्यालय प्रमुख साह पक्राउ परेनन

   १९ असार २०८२, बिहीबार १५:०७  

१८ असार, रौतहट । ठगी आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको एक महिना बितिसक्दा पनि काठमाडौंस्थित नापी कार्यालय डिल्लीबजारअन्तर्गत टोखा टोली प्रमुख सञ्जय साह पक्राउ पर्न सकेका छैनन् ।

इलाका प्रहरी गरुडाले अदालतबाट ठगी मुद्दा दर्ता गरी साहको नाममा गत जेठ १३ मा पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्र पठाए पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।

ठगी आरोपमै प्रहरीले नापी प्रमुख साह, दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साह, काठमाडौं नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र छोरा धीरज श्रेष्ठविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी लिइएको इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले बताए । गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले जग्गासम्बन्धी कारोबारमा रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरले नापी प्रमुख साह अहिलेसम्म पक्राउ नपर्नुको कारण काठमाडौं प्रहरीमा बुझ्ने बताए । ‘किन पक्राउ परेनन् भन्ने विषयमा म बुझ्छु,’ उनले भने, ‘वास्तविकता के हो, पक्राउ पुर्जी मगाएर यस विषयमा गम्भीर भएर हेर्छु ।’