गौर नगरपालिकाको बजेट ६१ करोड १५ लाख

   १० असार २०८२, मंगलवार १७:१४  

असार १०, रौतहट   । रौतहटको गौर नगरपालिकाले आर्थिक वर्ष ०८२÷०८३ का लागि ६१ करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।

गौर नगरपालिकाको १६ औँ नगरसभा उपप्रमुख शैलदेबीको तर्फ बाट प्रबक्ता अर्जुन सिहले बजेट सार्बजनिक गर्नु भएको हो । सोही सभामा नगरप्रमुख शम्भु साहले नीति तथा कार्यक्रमको बाचन गनुहुदै अगामी आर्थिक वर्ष नगरपालिकाले रोजगारी सिर्जना एवम् उद्यमशिलता प्रवर्धनमा जोड दिने बताउनु भयो ।

सबै किसिमको विभेद र असमानता अन्त्य, वातावरणमैत्री विकासमा जोड, व्यवस्थित शहरको विकास एवम् दिगो विकास, स्वच्छ समृद्ध गौर नगरको निर्माण गर्ने नीति नगरपालिकाले लिने उहाँले बताउनुभयो । नगरप्रमुख साहले अगामी आर्थिक वर्षका लागि युवा, शिक्षा तथा खेलकुद विकास, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार,शहरी विकास र भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहकारी तथा संघसंस्था, कानुन र न्याय सार्वजनिक सेवा, सुशासन र क्षमता विकास तथा राजस्व र वित्त व्यवस्थापनको समुचित विकासमा जोड दिइएको जानकारी दिनुभयो ।

यसैगरी, गौर नगरपालिकाले बहुप्रतिक्षित घन्टाघर, कोल्डस्टोर, विवाह भवन निर्माण, प्रवेशद्वार, रिभर ट्रेनिङ्ग, टाउन हल, पक्की सडक निर्माण, झोलुङ्गे पुल निर्माण लगायतका कार्यहरु गरिएको बताउँदै गौर नगरपालिका मधेश प्रदेशमा पहिलो स्थान तथा सामाजिक सुरक्षामा देशमै पहिलो स्थान हासिल गरेको उहाँले स्पष्ट पार्नुभयो ।

मधेश प्रदेश सरकार र उसको मातहत जिल्लाका कार्यालयहरुले पालिका भित्र योजना तथा कार्यक्रम सञ्चालन गर्दा नगरपालिकासँग कुनै सहकार्य तथा समन्वयमा सञ्चालन नगर्नाले प्रायः योजनाहरु दोहोरीएको नगरप्रमुख साहले बताउनु भयो ।