४६ अर्बको बजेट ल्याउँदै मधेश सरकार
असार १, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२र०८३ का लागि करिब ४५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
बजेट प्रस्तुत गर्न आज दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाएको हो । बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक वर्षको राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची छ । उनको कार्यकालको यो पहिलो बजेट हुनेछ ।
कृषि उत्पादन बढाउने र रोजगारी सृजना गर्ने मुख्य प्राथमिकताका साथ यसवर्ष बजेट ल्याउने प्रदेश सरकारको तयारी छ । अर्थमन्त्रालय स्रोतका अनुसार गत वर्षभन्दा बढी ४५ अर्बको हाराहारीमा बजेट आउनेछ ।
प्रदेश सरकारले गत वर्ष ४३ अर्ब ८९ करोड ७० लाखको बजेट ल्याएको थियो । बजेट खर्चको अवस्था भने निराशाजनक रहेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ महिनाको अन्तिम सातासम्म मात्र ८ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये पुँजीगततर्फ ३ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ मात्रै खर्च भएको तथ्यांक छ । यो कुल बजेटको १३ प्रतिशत हो ।
चालु खर्चतर्फ मात्र ३२ प्रतिशत अर्थात् ५ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।






