आइपीएल फाइनल : बैंग्लोर र पञ्जाबलाई ऐतिहासिक अवसर
२० जेठ, काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२५ संस्करणको फाइनल खेल आज अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ। यो खेलले आइपीएलमा नयाँ च्याम्पियन दिनेछ।
१७ औं सिजनसम्म आइपीएलको उपाधिमा ७ टिमले नाम लेखाइसकेका छन्। तर, पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) जस्ता पुराना टोली अझै उपाधिविहीन छन्। दिल्ली क्यापिटल्ससहित यी दुई टोलीलाई ‘आइपीएलको पवित्र त्रिमूर्ति’ भनेर व्यंग्य गरिन्छ। आज यीमध्ये एकले अन्ततः उपाधि जित्दै त्यो सूचीबाट नाम हटाउनेछ।
पञ्जाब किङ्सलाई फाइनलसम्म डोर्याएका श्रेयस अय्यरका लागि यो लगातार तेस्रो आइपीएल फाइनल हो। अघिल्लो सिजनमा उनले कोलकाता नाइट राइडर्सलाई उपाधि दिलाएका थिए। यसपटक नयाँ टिमको जर्सीमा उनी फेरि च्याम्पियन बन्ने लक्ष्यमा छन्। संयमित र रणनीतिक कप्तानको रूपमा स्थापित अय्यरका बारेमा अब प्रश्न उठ्न थालेको छ, यस्तो प्रदर्शन गर्दा पनि उनी किन भारतीय टिमबाट बाहिर छन्? यसको समीक्षा आइपीएलको फाइनलपछि पक्कै हुनेछ।
यता, आरसीबीका समर्थक पनि उपाधिको भोक मेटाउन चाहन्छन्। खासगरी विराट कोहलीका दृष्टिकोणले आजको फाइनल खेल महत्त्वपूर्ण हुनेछ। पछिल्लो एक वर्षमा टी-२० विश्वकप र च्याम्पियन्स ट्रफी जितेका कोहली आइपीएल उपाधिसहित उत्कृष्ट वर्ष बनाउन चाहन्छन्। १८ वर्षको उपाधिविहीन यात्रापछि आरसीबीले यसपटक इतिहास रच्ने मौका पाएको छ।
आरसीबीका कप्तान रजत पाटिदारले टिमलाई फाइनलसम्म ल्याएका छन्, तर व्यक्तिगतरूपमा भने खास प्रदर्शन गर्न सकेका छैनन्। उनी खेल जिताउन सक्ने क्षमता राख्छन्। नरेन्द्र मोदी रंगशालामा उनले आफ्नो फर्ममाथि उठेको प्रश्नको उत्तर दिने कोशिस गर्नेछन्।
पञ्जाबका लागि युजवेन्द्र चहल महत्त्वपूर्ण खेलाडी हुन्। सिजनको एकमात्र ह्याट्रिक लिनुका साथै उनले टिमलाई महत्त्वपूर्ण विकेट दिएका छन्। तर, हातमा लागेको चोटका कारण उनको फाइनल खेल्ने सम्भावनामा प्रश्नचिन्ह छ। यदि चहल अनुपस्थित भए, उनको स्थानमा हरप्रित बरार खेल्नेछन्।
सम्भावित प्लेइङ ११
आरसीबी
फिल साल्ट, विराट कोहली, मयंक अग्रवाल, रजत पाटिदार (कप्तान), लियाम लिभिङस्टोन/टिम डेविड, जितेश शर्मा, रोमारियो शेफर्ड, कुर्नाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, जोश हेजलवुड, सुयस शर्मा।
पञ्जाब किङ्स
प्रियांश अर्या, प्रभसिमरन सिंह, जोश इङ्लिस, श्रेयस अय्यर (कप्तान), नेहाल वडेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाइ, विजयकुमार वैशाख, काइल जेमिसन, अर्शदीप सिंह, युजवेन्द्र चेहेल/हरप्रित बरार।
पिच र मौसमको स्थिति
फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा हुनेछ, जुन रन बनाउन अनुकूल पिचका लागि प्रसिद्ध छ। यहाँ ८ इनिङ्समा २०० भन्दा बढी रन बनिसकेका छन्। ८ मध्ये ६ पटक पहिले ब्याटिङ गर्ने टिम विजयी भएका छन्। पञ्जाबले यस मैदानमा यो सिजन दुई खेल खेलेर दुवैमा जित निकालेको छ। विशेषतः गुजरात टाइटन्सविरुद्ध यही पिचमा जित हात पारेको थियो। अर्कोतर्फ आरसीबीले अझै यो मैदानमा खेलेको छैन, जसले उनीहरूलाई केही समय ‘एड्जस्ट’ गर्न बाध्य पार्न सक्छ।
फाइनलका लागि प्रयोग हुने पिच रातो र कालो माटोको मिश्रण हो। क्वालिफायर २ मा जस्तै, आज पनि वर्षाको सम्भावना रहेकाले आइपीएलले मंगलबार ‘रिजर्भ डे’ तय गरेको छ।






