रौतहटका पालिकाहरुमा ‘सेटिङ्ग’ मा गोप्य टेण्डर

६ जेठ, रौतहट । रौतहटका स्थानिय तहहरुले सामग्री आपूर्ती तथा निमार्ण कार्यका लागी आवहन गर्ने टेण्डरहरुमा व्यापक अनियमितता भइरहेको भेटिएको छ ।
स्थानिय तहको बजेटबाट पालिकाहरुमा गर्नु पर्ने कामका लागी बजारमा नआउने पत्र–पत्रिकाहरुमा गोप्य रुपमा टेण्डर प्रकाशन गरेको सूचना निकाल्न लगाउने क्रममा रौतहटमा बढेको छ । सम्बन्धीत निकायहरुले निगरानि नगर्दा रौतहटका अधिंकाश पालिकाहरुमा गोप्य टेण्डर हुने गरेको छ ।
व्यवसायी र कर्मचारीको मिलेमतोमा सबै भन्दा बढी रौतहटको ईशनाथ नगरपालिका गोप्य टेन्डर भएको छ । ईशनाथ नगरपालिकाले गोप्य रुपमा २ वटा ठेक्का गौरका एक व्यापारीलाई दिएको छ । आर्थिक वर्ष २०८१–०८२ को स्वीकृत कार्यक्रम अनुसार जनता माध्यमिक विद्यालय औरैयाको भवन निर्माण र नगरभरी पोलतार तथा ट्रान्सफर्मर जडानको ठेक्का पालिकाले गोप्य रुपमा व्यापारीलाई दिएको हो ।
सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ विपरीत इशनाथ नगरपालिकाले फर्निचर, मेशिनरी तथा मसलन्द सामग्रीको आपूर्तिका लागी १ करोड ६८ लाख भन्दा बढीको गोप्य टेन्डर गरेको छ । यसैगरी जनता माध्यमिक विद्यालय औरैया भवन निर्माणमा ५७ लाख र पालिकामा बिजुलीको पोलतार तथा ट्रान्सफर्मर जडान कार्यको ५८ लाख १७ हजार रुपैयाको ठेक्का आर्यन कन्सट्रक्सनलाई गोप्य रुपमा दिएको छ ।
त्यस्तै रौतहटको परोहा नगरपालिकाले सेनेटरी प्याडको टेण्डरमा पनि अनियमितता गरेको छ । नगरपालिकाको मिलेमतोमा विजय मेडिसिन सप्लायर्स गौर ५ लाई २२ लाख ६८ हजारको टेण्डर गोप्य रुपमा दिएको प्रमाण फेला परेको छ । फतुवा विजयपुर, दुर्गा भगवति, गरुडा, राजपुर, यमुनामाई र वृन्दावन लगायत रौतहटका अधिकांश पालिकाले काठमाण्डौंमा दर्ता रहेका तर बजारमा नआउने केही पत्रिकाहरुमा गोप्य रुपमा टेण्डर निकाल्ने गरेका छन ।
गोप्य टेण्डर निकाल्न रौतहटका पालिकाहरुले सिटि पोष्ट दैनिकलाई प्रयोग गर्ने गरेका छन । केही बिचौलियाहरुको मिलेमतोमा नगरपालिकाका मेयर तथा प्रशासकिय अधिकृतहरुको योजनामा सूचना गोप्य राखेर आफ्ना नजिकका व्यापारीबाट निर्माण तथा सामग्री आपूर्तीको काम हुने गरेको छ ।
पालिकाका मेयर र प्रशासकिय अधिकृतहरुले नियम कानूनलाई मिच्दै बोलपत्र आवहनको सूचना लुकाएर कमिशनका आधारमा बेच्ने गरेकोले निर्माण व्यवसायीहरु मारमा परेको निर्माण व्यवसायी संघ रौतहटले जनाएको छ । “बोलपत्रहरु सार्वजनिक रुपमा सबैलाई जानकारी हुने गरी प्रकाशन हुनुपर्नेमा रौतहटका अहिले यस्तो भएको छैन ।” निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्ण देव यादव भने “हामीले रौतहटका सबै पालिकाहरुमा ज्ञापन पत्र समेत बुझाएका छौं तर पालिकाहरुले कुनै चासो देखाएका छैनन ।” नगरपालिका मेयर, हाकिम देखि जिल्ला प्रशासन कार्यालयमा समेत यस विषयमा जानकारी गराउदा रौतहटमा गोप्य टेण्डरको क्रम नरोकिएको अध्यक्ष यादवले बताए ।
नियमनकारी निकायहरु मौन भएर बस्दा पालिकाहरुले टेण्डरका सूचना लुकाएर आफु नजिकका व्यापारीहरुसँग कमिशन लिने गरेको अध्यक्ष यादवले बताए ।