श्रोत नखुलेको १६ लाख भन्दा बढी रकम सहित २ जना पक्राउ

   १९ माघ २०८१, शनिबार २१:४८  

१९ माघ, रौतहट । श्रोत नखुलेको १६ लाख भन्दा बढी रकम सहित २ जनालाई सशस्त्र प्रहरी पक्राउ गरेको छ ।

रौतहटको इशनाथ नगरपालिका वडा न ४ महुलियाबाट सशस्त्र प्रहरी बलले भारतबाट नेपाल तर्फ आउदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

नगद सहित राजपुर नगरपालिका ४ का शिव मंगल साह र प्रवेज आलमलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाइले बताए ।

बरामद गरिएको नगद, मोटरसाइकल सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय पठाइएको उपरीक्षक हुमागाइले बताए ।