शीतलहरबाट जनजीवन प्रभावित
१५ माघ, रौतहट । तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
रौतहट जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शितलहरको प्रभावमा परेको छ । उतरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर र आसपासका क्षेत्र तिन साता देखी तुषारो र कुहिरोले ढाकिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जनाएको छ ।
महाशाखाका अनुसार देशको विभिन्न भूभागमा साथै पूर्वी तराई र मधेसका जिल्लामा हुस्सु लागेर चिसो बढेको छ । पूर्वी तराईका विभिन्न जिल्लामा बाक्लो हुस्सु लाग्ने, मौसम धुम्मिने, बिहानदेखि लगभग बेलुकासम्मै शीतलहर परेर चिसो बढ्न थालेको छ ।
रौतहटको दक्षिणी भेगमा चिसोको असर बढी देखिएको छ । बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि सदरमुकाम गौर सहित अन्य पालिकाहरुमा पनि चिसो बढेको छ । कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ भने रौतहटका स्थानियको जनजीवन प्रभावित हुन थालेको छ । चिसोले बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन ।
न्यानो कपडाका पसलमा भने ग्राहकको भीड बढेको छ । केही सर्वसाधारण स्थानीय यहाँ चिसोले गर्दा दाउरा, गुइँठा, बालेर आगो ताप्न बाध्य छन् । कठङ्याग्रिँदो चिसोसँगै केही नदेखिने गरी हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको छ ।
जिल्ला अस्पतालमा बालबालिका, वृद्धवृद्धा साथै मुटु, दम, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका स्वास्थ्यकर्मीको भनाइ छ ।






