अलराउन्डरले सुसज्जित महँगो टोली पोखरा एभेन्जर्स
१३ मंसिर,पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगोमा बिक्री भएको फ्रेन्चाइज हो, पोखरा एभेन्जर्स । कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखराले प्रशिक्षण र विदेशी खेलाडीमा पनि ठूलो लगानी गरेको छ ।
पोखराले मुख्य प्रशिक्षकमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सको फिल्डिङ र ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका राजीव कुमारलाई भित्राएको छ । मेन्टरको रूपमा विश्वकै उत्कृष्ट फिल्डरको रूपमा चिनिने दक्षिण अफ्रिकाका लेजेन्ड जोन्टी रोड्सलाई जोडिएका छन् । जोन्टीले पाकिस्तान, श्रीलंकाको राष्ट्रिय टोलीदेखि आइपीएलमा मुम्बई इन्डियन्सको फिल्डिङ प्रशिक्षकको रूपमा काम गरिसकेका छन् । ६ विदेशी खेलाडी भित्राउने एकमात्रै टोली पनि पोखरा नै हो ।
पोखराले विदेशी खेलाडीको दह्रो पंति बनाएको छ । अमेरिकाको सिनियर टोलीबाट खेलिरहेका आन्द्रेस गौसदेखि नेदरल्याण्ड्सका युवा अलराउण्डर बास डे लिडेसम्म अनुबन्ध भएका छन् । दक्षिण अफ्रिकामा जन्मिएका विकेट किपिङ ब्याटर गौस गत अप्रिलदेखि अमेरिकाबाट खेल्दै आएका छन् । उनले दक्षिण अफ्रिकाका लागि यू-१९ विश्वकप खेलिसकेका छन् । घरेलु मैदान र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा आन्द्रेसले उत्कृष्ट प्रदर्शन गरेका थिए । अमेरिकाबाट २३ टी-२०आई खेलेका उनले ६९२ रन बनाएका छन् । आन्देस अहिले अवुधावी टी-२० लिग खेलिरहेका छन् ।
नेदरल्याण्ड्सका बास ब्याटिङ अलराउन्डर हुन् । २५ वर्षीय बास टी-२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेदरल्याण्ड्सबाट ४१ टी-२० आई खेलेका उनले ७२२ रनसँगै ३३ विकेट लिएका छन् । टपअर्डरमा ब्याटिङ गर्ने बास तिब्र गतिका बलर हुन् ।
पोखरामा अनुबन्ध हुने अर्का खेलाडी हुन्, स्कटल्याण्डका ३४ वर्षीय अलराउण्डर माइकल लिस्क । लामो समयदेखि स्कटल्याण्डको सिनियर टोलीबाट खेलिरहेका माइकल अलराउन्डर भूमिकामा खेल्ने गर्छन् । मिडलअर्डरमा ब्याटिङ गर्ने उनले स्पिन बलिङ गर्ने गर्छन् । उनले स्कटल्याण्डको सिनियर टोलीबाट ६७ टी-२० खेल खेलेका छन् । ६७ खेलमा ७२६ रन र ४१ विकेट लिएका छन् ।
इंग्ल्याण्डका म्याट क्रिट्ले र वेष्ट इन्डिजका रेमोन रेइफर पनि पोखरामा अनुबन्ध भएका छन् । म्याट इंग्ल्याण्डका ब्याटिङ अलराउण्डर हुन् । इंग्ल्याण्डको सिनियर टोलीबाट खेल्न नपाएका उनले द हन्ड्रेड, भाइटालिटी ब्लास्ट र बिग व्यास जस्ता लिग खेलेका छन् । उनले १४१ टी-२० खेलमा १९७३ रन र १२० विकेट लिएका छन् । टपअर्डरमा ब्याटिङ गर्ने उनले स्पिन बलिङ गर्छन् ।
घरेलु क्रिकेटमा जमेका वेस्ट इन्डिजका रेमोन राष्ट्रिय टोलीबाट अवसर नपाउने खेलाडी हुन् । २०१७ मा टेष्टबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले २०२२ मा आएर पहिलो टी-२० आई खेल खेलेका थिए । वेस्ट इन्डिजबाट ८ टेष्ट, ६ ओडीआई र ३ टी-२० खेल खेलका छन् । अलराउन्डर भूमिकामा खेल्ने उनले हालसम्म ९३ टी-२० खेल खेलेका छन् । उनले उक्त टी-२० खेलमा १ हजार १२४ रन र ६६ विकेट लिएका छन् । उनीसँग क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग र इन्टरनेशनल लिग टी-२० र च्याम्पियन्स लिग जस्ता प्रतियोगिताहरू खेलेको अनुभव छ । वेष्टइन्डिजका एण्डरसन फिलिपलाई भित्राएको पोखराले उनी नआउने भएपछि इंग्ल्यान्डका अर्का खेलाडीलाई अनुबन्ध गरेको छ । उनलाई भने पोखराले सार्वजनिक गरेको छैन ।
पोखरामा स्वदेशी खेलाडीहरूको पंति भने औसत छ । मार्की खेलाडीसहित राष्ट्रिय टोलीबाट खेलिसकेका दीलिप नाथ, सागर ढकाल र आकाश चन्द छन् । विकेटकिपर ब्याटर दीलिप लामो समयदेखि राष्ट्रिय टोली बाहिर छन् । घरेलु क्रिकेटमा उनले नेपाल पुलिस क्लबबाट ओपनिङ गर्दै आएका छन् । सागर स्पिनर हुन् । सन्दीपको अनुपस्थितिमा उनले राष्ट्रिय टोलीमा स्पिनरको भूमिका निर्वाह गर्ने गर्छन् । उदाउदो लय रहेका आकाशले केही समयअघि राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । तीव्र गतिका बलर आकाशले उमेर समूहमा समेत राम्रो प्रदर्शन गरेका थिए ।
यस्तै टोलीमा नेपाल ‘ए’ टीमबाट खेलिसकेका किरण ठगुन्ना, विपिन खत्री र नारायण जोशी छन् । ब्याटिङमा जम्दै आएका किरण सुदूरपश्चिम र बलिङमा जम्दै आएका विपिन गण्डकी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । किरण मिडलअर्डर ब्याटर हुन् भने विपिन स्पीनर हुन् । सुदूरपश्चिमबाट खेल्ने नारायण र अस्ट्रेलियामा घरेलु क्रिकेट खेल्ने सुनाम गौतम ब्याटिङ अलराउन्डर हुन् । त्रिभुवन आर्मी क्लबबाट खेल्ने त्रितराज दास, ओपनिङ पोजिसनमा खेल्ने दिनेश खरेल र गण्डकी प्रदेशका खेल्दै आएका बलर अमृत गुरुङ पनि पोखरामा अनुबन्ध भएका छन् ।
पोखराको टीम फरम्यासन
पोखराको ब्याटिङमा धेरै विकल्प छन् । राष्ट्रिय टोलीबाट ओपनिङ गरिरहेका कुशल भुर्तेलले पोखराको ओपनिङ गर्नेछन् । उनलाई राष्ट्रिय टोलीबाट ओपनिङ गरिसकेका दीलिप नाथले साथ दिने सम्भावना छ । पोखराले ओपनिङ विकल्पको रूपमा अमेरिकाका विकेटकिपर ब्यारट आन्द्रेस गौसलाई पनि रोज्न सक्छ । यद्यपि, उनी आबुधावी टी-१० लिग खेलिरहेकाले सुरूआति खेल गुमाउने सम्भावना छ ।
उनीहरूसहित टपअर्डरमा नेदरल्याण्ड्सका युवा अलराउण्डर बास डे लिडेसहित इंग्ल्याण्डका म्याट क्रिट् पनि रहनेछन् । टपअर्डरमा धेरै विकल्प हुँदा बास र म्याट मिडलअर्डर पनि खेल्न सक्नेछन् । मिडलअर्डरमा स्कटल्यान्डका माइकल लिस्क, वेष्ट इन्डिजका रेमोन रेइफर, सुनाम गौतम, त्रितराज दास जस्ता खेलाडी रहने छन् । लोअर्डरमा किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री रहनेछन् ।
स्पीन बलिङतर्फ सागर ढकालसहित विपीन खत्री रहनेछन् । उनीहरूलाई मार्की प्लेयर कुशलसहित म्याट र माइकलले साथ दिनेछन् । फाष्ट बलिङ युवा बलर आकाश चन्दसहित बास, रेमोन, अमृत गुरुङ सम्हाल्नेछन् ।
पोखरा एभेन्जर्स
सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङ ।
विदेशी खेलाडीः आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड)
मार्की प्लेयरः कुशल भुर्तेल
प्रशिक्षकः राजीव कुमार
मेन्टरः जोन्टी रोड्स
पोखराको खेल तालिका
मंसिर १५ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराले पहिलो खेल मंसिर १८ गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । दोस्रो खेल मंसिर २० मा जनकपुर बोल्ट्स, तेस्रो खेल मंसिर २१ मा लुम्बिनी लायन्स र चौथो खेल २५ मा कर्णाली याक्ससँग खेल्नेछ ।
पोखराले पाचौं खेल मंसिर २७ मा विराटनगर किंग्स, छैटौं खेल मंसिर २९ मा काठमाडौं गुर्खाज र सातौं खेल मंसिर ३० गते सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ ।