पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
द नेपाल मिडिया
१२ मंसिर २०८१, बुधबार १६:०३
१२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्सा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।
मन्त्री लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ । अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा र कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधिएको थियो ।
गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो, ‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ ।’