एनपीएलको उद्घाटन खेलको १२ हजार टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’
१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।
मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
‘केही दिनअघि मात्रै खल्तीमार्फत हामीले घोषणा गरिसकेपछि एकदमै राम्रो फिडब्याक आएको छ । सम्भवत् पहिलो म्याचको त टिकट पूरै सोल्ड आउट भइसकेको छ दर्शक सामान्यतर्फ र भिआइपीतर्फ पनि,’ उनले भने, ‘दर्शकहरु नेपाल प्रिमियर लिग हेर्न आतुर हुनुहुन्छ ।’
मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको प्रवक्ता लामाले बताए ।
‘टिकट चाहिँ हामीसँग भीआइपी र सामान्यतर्फ गरेर करिब १२ हजार जति क्यापिसिटी छ । पहिला खेलको लागि सोल्डआउट नै भइसक्यो,’ उनले भने, ‘सिद्धार्थ बैंक जोन छ । जुन हाम्रो टाइटल स्पोन्सर हो । अरु चाहिँ जोन १ जोन २, जोन ३ छुट्याएका छौं । भीआइपी एरिया छ । भीभीआइपी, ओनर्स भन्ने छ ।’
एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।