उपनिर्वाचनका लागि एमाले रौतहटको उम्मेदवार चयन
रौतहट ,२१ कार्तिक । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले उम्मेदवार चयन गरेको छ । १६ गते हुने उपनिर्वाचनमा रौतहटका तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ ।
१६ गते हुने उपनिर्वाचनमा रौतहटको राजपुर नगरपालिका ६, इशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा निर्वाचन हुँदैछ। नेकपा एमाले रौतहटको सचिवालय बैठकले राजपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका वडा नम्बर ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेसँगै नेकपा एमाले रौतहटले रौतहटका तीनवटा वडामा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो । नेकपा एमाले र रौतहटले चयन गरेका तीनवटै वडाध्यक्षका उम्मेदवारहरूलाई जिताउनका लागि सम्पूर्ण पार्टी पंक्तिलाई एक भएर लाग्नका लागि नेकपा एमाले रौतहटका जिल्ला अध्यक्ष सचिदानन्द शाहले विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन् ।