मधेशमा छठको उल्लास, महापर्वको आज दोश्रो दिन
२१ कार्तिक, रौतहट । तराईवासीहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठको आज दोश्रो दिन व्रतालुहरुले आज खरना मनाउदै छन ।
छठ पूजाका लागी आवश्यक पर्ने तरकारी, फलफुल तथा मिठाई किन्नेको भिड बजारमा बढी छ । आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व हिजो बाट शुरु भएको हो । सूर्य उपासनाको यो महापर्व छठ पूजाको पहिलो दिन हिजो व्रतालुहरुले नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरेका थिए । स्थानिय भाषामा नहाय खाय भन्ने हिजोको दिन व्रत बस्ने महिलाहरु चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाएका थिए ।
छठको दोश्रो दिन अर्थात आज बेलुका व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु हुनेछ ।
यस अवधिमा पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन । बिहिवार व्रतालुहरुले बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिनेछन भने शुक्रवार बिहान संसार लाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो पर्व सकिने छ ।
समानताको प्रतिक छठ
लोकआश्थाको यो पर्वलाई समानताको प्रतिकको रुपमा पनि लिने गरिएको छ । नदी तथा पोखरी किनारमा सामुहिक रुपमा छठ गरिरहदा धनि र गरिब बिचको भेदभाव अनी सानो र ठूलो भन्ने भावनाको पनि अन्त्य भएको देखिन्छ ।
खास गरी उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिने यस पर्वले छुवाछुतको खाडललाई पनि पुर्ने काम गरेको छ भने समाजमा सबै मानिसको अस्तीत्व हुन्छ भन्ने समेत स्वीकार गराएको छ । डुम समुदायलाई यति खेर आफूले बनाएको बासका सामग्री बेच्न भ्याइनभ्याईको अवश्था छ ।
छठ एक यस्तो पर्व पनि हो जसमा पुरोहित वा पुजारीको प्रयोग हुदैन । अन्य पर्वहरुमा पुजारी र पंडितले विधिपूर्वक पूजा गराए पनि छठमा उनीहरुको प्रयोग हुदैन । सामुहिक रुपमा बसेका व्रतालुहरुले पूर्ण विधिविधानले स्वंम आफै नै भक्तिभावका साथ चार दिनको पूजा सम्पन्न गर्छन ।
अन्य चाडपर्वहरुमा देवी देवताको मूर्ति वा प्रतिमालाई पुजा गर्ने चलन रहे पनि छठ पर्वमा भने अस्ताउदो र उदयमान सूर्यलाई प्रत्यक्ष हेरेर नै व्रतालुहरुले अर्घ दिने गर्छन । पृथ्वीलाई जिवन दिने सूर्यलाई नै भगवानका रुपमा पूजा गर्ने यो पर्वमा उदाउदो मात्रै होइन अस्ताउदो सूर्यको समेत पूजा गर्ने गरिन्छ ।