राष्ट्रिय महिला फुटबल टिममा रौतहटका ८ खेलाडी

   ३० आश्विन २०८१, बुधबार ११:३०  

३० असोज, रौतहट । नेपाली राष्ट्रिय महिला फुटबल टिमममा रौतहट जिल्लाका ८ खेलाडीले आफ्नो स्थान पक्का गरेका छन ।

कातिक १ गते देखी काठमाण्डौंको दशरथ रंगशाला मा शुरु हुने साफ महिला च्याम्पियनशिपका लागी घोषणा भएको २३ सदस्यीय टोलीमा ८ जना रौतहटका खेलाडीको सहभागिता रहेको छ ।

घरेलु मैदानमा आयोजना हुने सातौं साफ महिला च्याम्पियनशिपमा रौतहटकी रेनुका नगरकोटे, अनिता केसी, निशा ठोकर, अन्जना रानामगर, रश्मि कुमारी घिसिङ, समिक्षा घिमिरे, सबिता रानामगर र  सजनी ठोकरले स्थान बनाएकी छिन ।

एकै जिल्लाबाट आठ जना खेलाडी राष्ट्रिय टिममा पर्नुलाई रौतहट जिल्ला फुटबल संघले गर्वको विषय बताएको छ । “कुनै समयमा स्व. शेरबहादुर दर्लामीले गाँउगाँउबाट जम्मा गरेर प्रशिक्षण दिदै तयार पारेको खेलाडीहरु अहिले देशका लागी खेल्ने खेलाडी बनेका छन, जुन रौतहटकै लागी गर्वको कुरा हो ।” रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले भने “हामीले रौतहटमा महिला फुटबलको विकासका लागी नै ध्यान केन्द्रीत गरेर वर्षौ देखी प्रशिक्षण तथा प्रतियोगिताहरु गरिरहेका छौं ।”

राष्ट्रिय टिममा रौतहटकै खेलाडीहरुको वर्चस्व हुनु निकै सुखद क्षण भएको उनले बताए । “रौतहटका छोरीहरुले अन्तराष्ट्रिय स्तरमा देश चिनाएका छन ।” अध्यक्ष दर्लामीले भन्छन “रौतहटमा हुने फुटबल प्रशिक्षणलाई निरन्तरता दिन एन्फाले प्रयाप्त लगानी गर्नु पर्छ साथै नगरपालिका र वडाहरुले पनि खेलाडीहरुलाई सहयोग गर्नुपर्छ ।”

साफ महिला च्याम्पियनशिपमा डेब्यु गरेकी सजनी ठोकरका बुवाको खुशीको सिमा नै छैन । छोरी राष्ट्रिय टिममा परेको खबर सुनेपछि उनको छाती गर्वले फुलेको छ । “धेरै वर्ष देखी नियमित प्रशिक्षण र खेल खेलिरहेकी थिइन, यस पटक राष्ट्रिय टिममा पर्दा अत्यन्तै खुशी छु ।” सजनी ठोकरका बुवा कुलबहादुर ठोकरले भने “आफ्नो सन्तालले देशको लागी खेल्ने मौका पाएको छ । गाँउटोल सबै खुशी छन ।”

रौतहट महिला फुटबलका लागी उर्वर भूमि रहेको मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले बताए । “रौतहटका छोरीहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिमबाट समेत खेलिरहेकी छिन ।” मधेश प्रदेश अध्यक्ष कार्कीले भने “राष्ट्रिय टिमको जर्सीमा देशका लागी खेल्नु शानको विषय हो ।” रौतहटका ७ जना अहिले नेपाल प्रहरी, ७ जना सशस्त्र प्रहरी तथा ४ जना नेपाली सेनाको विभागीय टोलीबाट खेलिरहेको अध्यक्ष कार्कीले बताए ।