बाेलबम तिर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा ५ जना घाईते

   २० श्रावण २०८१, आईतवार १४:४७  

२० श्रावण, मलंगवा । बाेलबम तिर्थयात्री सवार टेलरसहितकाे ट्याक्टर नहरमा खस्दा ५ जना घाईते भएका छन् ।

भारतकाे मढियाबाट चक्रघट्टा गाउँपालिका-५, औरहीतर्फ आउँदै गरेकाे ज. २ त ३२७ नम्बरको ट्याक्टर आईतबार बिहान ११ बजे मलंगवा नगरपालिका-१२ गम्हरिया छेउकाे नहरमा खसेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परि चक्रघट्टा-५ निवासी दिनेश मण्डलकी श्रीमति २६ वर्षीया शान्ती देवी, उनकी छोरी ९ वर्षीया सुस्मिता कुमारी, उपेन्द्र मण्डलकी श्रीमति ४० वर्षीया गिता देवी, जोगीन्द्र मण्डलकी श्रीमति ४५ वर्षीया पतही देवी र उनकी छोरी ११ वर्षीया अंशु कुमारी घाईते भएका छन् । पतही देवीलाई थप उपचारका लागि वीरगंजतर्फ पठाईएकाे र ४ जनाकाे सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे डीएसपी श्रेष्ठले जानकारी दिए ।

ट्याक्टर चालक चक्रघट्टा-८ निवासी राम उग्र रायको छोरा ३० वर्षीय रामबालक राय दुर्घटना लगतै फरार रहेकाले खाेजतलास जारी रहेकाे प्रहरीले जनाएकाे छ । शनिबार राती बागमती नदिबाट उठाएकाे जल भारतकाे मढिया मन्दिरमा चढाएर घर फर्किदै गरेका भक्तजन चढेकाे ट्याक्टर दुर्घटनामा परेकाे हाे ।

२५ जना तिर्थयात्री सबार भएपनि बाँकी सबैकाे सुरक्षाकर्मी र स्थानीय मिलेर सकुशल उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।