कसरी पहिरोमा बग्यो गणपति र एन्जल बस

   ६ श्रावण २०८१, आईतवार १४:२२  

काठमाडौंको नयाँ बसपार्कबाट गौरको लागि छुटेको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ गणपतीको बस काठमाडौं छोड्दा ८ बजेर ३० मिनेट गएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालय नागढुंङ्गाले राखेको रेकर्डअनुसार गौर जाँदै गरेको बस ८ बजेर ३० मिनेटमा नागढुङ्गा क्रस गरेको देखिएको छ ।

उक्त बसले एक सय १७ किलोमिटरको दुरीपार गरेर सिमलताल पुग्दा बिहानको साढे तीन बजेको थियो । उक्त बसले एक सय १७ किलोमिटरको दुरी पार गर्न आठ घण्टा लगायो । सामान्य अवस्थामा काठमाडौंबाट नारायणघाट पुग्न पाँच घण्टामात्रै लाग्छ ।

तर, निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड र वर्षातको कारण पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डपार गर्न हरेक बसहरुलाई निर्धारित समय भन्दा बढी लाग्ने गरेको छ ।

पहिरोमा परेको काठमाडौंबाट गौरका लागि हिँडेको बसको अवस्थामा पनि त्यही भयो । रातभर पानी परेका कारण पहिरो पन्छाउँदै काठमाडौंबाट पश्चिमका लागि छुटेका रात्रीकालीन बसहरु र चितवन हुँदै काठमाडौं आउने बसहरु ३ बजेतिरमात्रै सिमलताल पुगेका थिए ।

सिमलतालमा पनि हिलोसहितको पहिरो शुक्रबार रातिदेखि नै आएको थियो । जसकारण सिमलतालमा समेत बाटो अवरुद्ध भयो । चितवन प्रहरीका अपरेसन कमाण्डर डीएसपी श्रीराम भण्डारीका अनुसार अवरुद्ध बाटो राति १ बजेमात्रै खुल्यो ।

त्यो ठाउँमा सामान्य पानी पर्दासमेत गेग्रानसहितको हिलो सधैँ आउने गर्छ । त्यसैको सुरक्षाका लागि ग्रेग्रान बग्ने ठाउँमा फलामको जालीसहितको पर्खाल हालेर रोकिएको छ । १ बजे डोजरले सफा गरेपछि सुरुमा बाटो एकतर्फी र पछि दुईतर्फी नै चल्दै आएको थियो ।

तर, विस्तार विस्तारै बग्दै गरेको ग्रेग्रानले सडक साँघुरो बनाउँदै गएको देखिएको छ । तीन बजेसम्म पुग्दा बाटो फेरि एकतर्फीमात्रै चल्ने अवस्थामा पुग्यो । तर, हराइरहेका दुवै बसका चालकहरुले त्यही बाटोमा एक अर्कोलाई पालो नदिइ आ–आफैैँले पास गर्न खोजे । तर, पास हुन नसकि दुवै बस अड्किए ।

वीरगन्जबाट आउँदै गरेको वाग्मती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसको अगाडि पृथ्वी राजमार्ग चल्ने सिन्धुली–पोखराको ग२ख१८२२ नम्बरको अर्को बस थियो ।

एन्जल बसका चालकले उनलाई ओभरटेक गरेर अगाडि हुँइकिएको केहीबेरमात्रै भएको थियो । त्यहीबेला काठमाडौंबाट गौर जाँदै गरेको बससमेत त्यहाँ पुगेर अड्किदा दुवै बस पहिरोमा परेको प्रहरीले जनाएको छ ।

सिन्धुली–पोखरा बसका चालक जीवन सुनारका अनुसार त्यो बाटोमा दुवै बस एक्लाएक्लै गुडेको भए सजिलै पार हुन पनि सक्थे ।

उनी भन्छन, “म एन्जल बसको पछाडि थिएँ । मेरो गाडीलाई एन्जल बसका चालकले ओभरटेक गरेर अघि पुगेको थियो । म पछि परेँ । तर, पहिरो आएको ठाउँमा काठमाडौंबाट आएको गाडी र एन्जल बस दोहोरो भेट भयो । दुवै पास हुन सकेनन् । त्यहीबेला जालीमा भरिएको पानी र लेदो फुटेर दुवै बस बगाएको हो ।”

काठमाडौंबाट हिँडेको बसले गाडी पास गर्न सिधा पार्न खोज्दाखोजै एक्कासी बगेको जीवनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको विवरण अनुसार वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना यात्रु र काठमाडौंबाट गौर जाँदै गरेको गणपती लेखिएको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ नम्बरको बसमा २७ जना सवार थिए ।

दुवै बसका गरी ६२ जना यात्रु बेपत्ता भएका थिए । त्यसमध्ये सोमबारसम्म त्रिशूली नदीको विभिन्न ठाउँमा गरी १४ जनाको शव फेला परेको छ । ४८ जना अझै बेपत्ता छन् । हराइरहेका बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली चार दिनदेखि निरन्तर खोजीमा सक्रिय छन् । तर, बस अझै फेला पार्न सकेको छैन ।