गैँडाकोटमा दुई शव भेटिए, सिमलताल घटनाकै रहेकाे आशङ्का

   ३० असार २०८१, शनिबार १७:२४  

चितवन । पूर्वी नवलपरासी गैंडाकोट नागरपालिका- ७ तर्फ दुई जना पुरुषको शव भेटिएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको हो ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो । शवको सनाखत नभएकाले उनीहरु बसमा सवार यात्रु हो होइनन् यकिन भने भइसकेको छैन ।

यसअघि पश्चिम चितवनको गोलाघाटको नारायणी नदीबीचमा एक व्यक्तिको शव भेटिएको थियो । उनी भारत बिहारका ऋषिपल साह भएको र काठमाडौंबाट हिँडेको प्रदेश ३-००१ ख २४९५ नम्बरको गणपति ट्राभल्सको बसमा जोरपाटीबाट चढेका उनका आफन्तले सनाखत गरिसकेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।