रौतहटमा खुलेआम सवारी लाइसेन्स बिक्रि

   २६ असार २०८१, मंगलवार १५:२४  

रौतहट, २५ अषाढ । यातायात व्यवस्था सेवा कार्यालय गौरबाट आर्थिक चलखेलको भरमा सवारी चालक अनुमति पत्र बनाउने कार्य तिब्र भएको छ ।

कार्यालयका कर्मचारीहरुकै मिलेमतोमा सवारी चालक अनुमति पत्रको खुलेआम व्यापार हुन थालेको हो । कार्यालय प्रमुख अमरेन्द्र दास समेतको मिलेमतोमा बिचौलियाको प्रयोगबाट सेवाग्राहीहरुबाट १० देखी ३० हजार मूल्यमा लाइसेन्स विक्रि भएको छ ।

सवारी चालक अनुमति पत्र लिन अहिले देशका अधिंकाश स्थानहरुबाट सेवाग्राहीहरु गौर आउन थालेका छन । लाइसेन्सको लिखित तथा ट्रायल परिक्षा हुने दिन रौतहट भन्दा बाहिरका व्यक्तिहरु बढी मात्रामा उपस्थीत हुने गरेका छन । “१० देखी १५ हजार सम्ममा मोटरसाइकल र २० देखी ३० हजार रकम खर्च गरेपछि गौरबाट सजिलै लाईसेन्स निकाल्न सकिन्छ ।” चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स बनाउन काठमाण्डौं देखि गौर आएका एक सेवाग्राहीले भने “म सँग २० हजार लिएको छ । अरु सँग २८ हजार सम्म रकम उठाएका छन ।”

यातायात कार्यालयले सम्पर्कमा राखेका बिचौलिया मार्फत कार्यालय प्रमुख दासले मोटरसाइकल बापत ५ हजार र चार पाङग्रे सवारी साधन बापत १० हजार प्रति लाइसेन्स कमिसन लिने गरेको श्रोत बताउछ । कर्मचारी र बिचौलियाको साठगाँठमा अवैध रुपले लिखित र ट्रायल परिक्षाको सेटिङ्गमा सेवाग्राही बाट रकम असुल हुने गरेको छ ।

सवारी चालक अनुमति पत्रका लागी सेवाग्राहीबाट लिएको रकम कार्यालय प्रमुख, कर्मचारी, ट्राफिक प्रहरीलाई बाडफाड हुने गरेको छ । रकम नदिएर आफ्नौ क्षमतामा लिखित तथा ट्रायल दिनेहरुलाई कर्मचारीले अनुतिर्ण बनाउने गरेका छन भने रकम दिएकै भरमा सवारी साधन प्रयोग गर्न नआउने व्यक्तिहरुलाई समेत खुलेआम रुपमा लाइसेन्स विक्रि गरिएको छ ।

गौरमा रहेको सो कार्यालयको मिलेमतोमा रकम उठाउने काम गर्ने चितवनका बिचौलिया रमेश पाठक लाई सेवाग्राहि संग पैसा लिएर लाईसेन्स बनाई दिने गरेको आरोपमा रौतहट प्रहरीले २ महिना अगाडि नियन्त्रणमा लिएको थियो ।

यता यातायात कार्यालयले भने कुनै रकमी चलखेल नभएको दाबी गर्दै आएको छ । यस सम्बन्धमा कार्यालय प्रमुख अमरेन्द्र दाससँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन ।