ट्युशन सेन्टरको नाममा सटरमा व्यापार, विद्यार्थी बिच छुरा हानाहान

   २२ असार २०८१, शुक्रबार १५:०७  

रौतहट, २१ अषाढ । विद्यार्थी समुह बिच छुरा हानाहान हुदा रौतहटको गौरमा ३ जना किशोर घाइते भएका छन ।

गौर नगरपालिका नजिकै संचलानमा रहेका ट्युशन तथा कोचिङ्ग सेन्टरका विद्यार्थीहरु बिच भएको सो घटनामा घाइते ३ जनाको उपचार भइरहेको छ । घाइते मध्ये गौर ४ टिकुलियाका सुरज यादवको घाटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । “हिजो साँझ छुरा प्रहार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको थियो ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले भने “सो मध्ये १ जनाको संलग्नता नदेखिए पछि बाकी ३ जना उपर ज्यान मार्ने उद्योगमा मुद्दा कारवाही अगाडी बढेको छ ।”

घटनामा संलग्न ईशनाथ नगरपालिका ९ का २० वर्षिय संजिव गुप्ता, २१ वर्षिय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षिय शिवम कुमार सहनीलाई पक्राउ गरि उनीहरु उपर ज्यान मार्ने उद्योग अन्तर्गन मुद्द अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका उपरिक्षक घिमिरेले बताए ।

बिना पूर्वाधार संचालन, नियमक निकाय मौन 

समुचित पूर्वाधार बिना ट्युशन र कोचिङ्ग सेन्टरका नाममा एउटै कोठामा क्षमता भन्दा बढी विद्यार्थी राखेर पठनपाठन हुदा समेत नियमक निकाय मौन बसेको छ ।

गौर नगरपालिका कार्यालयको आसपासमै रहेका भवनको सटरमा कोठामा अटने भन्दा बढी विद्यार्थीहरुलाई खादेर शिक्षाको व्यापार भइरहदा पनि सम्बन्धीत निकायले कुनै वास्ता गरेको छैन ।

अनुमति समेत नलिएर संचलानमा रहेका यस्ता सेन्टरहरुमा बिहान सबेरै देखी अबेर राति सम्म पनि विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको छ । व्यापारिक प्रयोजनका लागी बनाइएका सटरमा एक पटकमा ४० भन्दा पनि विद्यार्थीलाई खादेर राख्दा समेत गौर नगरपालिकाको शिक्षा शाखा तथा शिक्षा विकास तथा समन्वय ईकाइले समेत कुनै चासो नलिएको अभिभावकहरुले गुनासो गरेका छन ।