घर भन्दा माथि ढल, गौरमा विकासको नाममा विनाश
रौतहट, २१ अषाढ । रौतहटका विभिन्न पालिकाहरुमा असारे विकास अन्तीम चरणमा पुगेको छ । सरकारी बजेटको चरम दुरुपयोग गर्दै नेता तथा कार्यकर्ता पाल्न उपभोक्ता समितिको गठन गरेर बजेट लुटने काम भएको छ ।
रौतहटको गौर नगरपालिका वडा नं. २ मा उपभोक्ता समिति मार्फत निर्माण भएको एउटा ढलले सरकारी रकम कसरी दुरुपयोग हुन्छ भन्ने पोल खोलेको छ । प्रदेश सरकारको योजनामा रौतहट १ का प्रदेश सभा सदस्य नागेन्द्र साहले गौर २ का वडा अध्यक्ष मार्फत गराएको ढल तथा बाटो निर्माणको काममा जिल्ला पूर्वाधार कार्यालयको चरम लापरवाही देखिएको छ ।
चालु अवश्थामा रहेको सडकमा ढल र सडक दुवै निर्माण गर्ने भन्दै उपभोक्ता समिति मार्फत २० लाख बराबरको बजेट राखिएको सो योजना ढल मात्रै बनाएर सम्पन्न भएको छ । स्थानीय टोलवासीलाई सडक र ढल दुवै बनाउने भनेका उपभोक्ता समिति र वडा अध्यक्षले जिल्ला पूर्वाधार कार्यालयका ईन्जिनियर तथा कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गर्दै विकासको नाममा विनाश गरेको स्थानियले बताएका छन ।

जिल्ला पूर्वाधार कार्यालयका प्रमुख तथा कर्मचारीको बदनियतका कारण रौतहटमा अधिकांश उपभोक्ता समितिले योजनाको नाममा सरकारी बजेटमा ब्रह्मलुट मचाएका छन । “गौर २ मा निर्माण भएको ढलको सम्बन्धमा पूर्वाधार कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराउन जाँदा वहाँ कार्यालयमा भेट हुनु भएन, फोन समेत उठाउनु भएन ।” गौर २ का प्रमोद साहले भने “घर भन्दा माथि ढल निर्माण गर्दा स्थानियको घर बाहिर पानी निस्कने सम्भावना छैन । ढलले गर्दा घरनै डुबानमा परेको छ ।”
गौर नगरपालिकाको सबगढामा निर्माण भएको ढल अर्को विनाशको नमूना बनेको छ भने गौर ३ मा रहेको पोखरीसँगै निर्माण भएको सडकले पनि विकासको पोल खोलेको छ ।
आफुले सो ढल निर्माण भइरहेकै बेला पूर्वाधार कार्यालयका कर्मचारीलाई ढलको उचाई बढी भएकोले त्यसलाई सच्याउन भने पनि कर्मचारी तथा कार्यालय प्रमुख समेतले कुनै वास्ता नगरेको गौर नगरपालिकाका मेयर शम्भू साहले बताए । पालिका भित्र हुने निर्माण लगायतका काममा पूर्वाधार कार्यालयले आफ्नै तरिकाले काम गराउँदा समस्या उत्पन्न भएको उनले बताए ।
यस सम्बन्धमा जिल्ला पूर्वाधार कार्यालयका प्रमुख संजिब कुमार साहलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन । आर्थिक वर्षको अन्तीम समयमा पूर्वाधार कार्यालयका कर्मचारीहरु कार्यालयको सट्टा घर तथा होटेलहरुबाटै भुक्तानी लगायतका कामहरु गरीरहेका छन ।






