श्रोत नखुलेको रकम सहित पक्राउ परेका व्यक्ति हिरासत बाटै फरार
द नेपाल मिडिया
८ असार २०८१, शुक्रबार १५:४६

७ असार, रौतहट । श्रोत नखुलेको रकम सहित पक्राउ परेका एक युवक हिरासत बाटै फरार भएका छन ।
सशस्त्र प्रहरी बलले श्रोत नखुलेको १४ लाख ८० हजार रकम सहित पक्राउ गरेको एक भारतीय नागरिक प्रहरीलाई झुक्याउदै हिरासत बाट फरार भएको हुन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुल स्थित भन्सार गेटबाट भारत बाट नेपाल तर्फ आउदै गरको बिआर ०५ बिबि ६२१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा भारतको जिल्ला पूर्वी चम्पारण मोतिहारी झरोखर ७ जमुनिया बस्ने वर्ष ३१ को गजेन्द्र रायलाई श्रोत नखुलेको १४ लाख ८० हजार सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको हिरासतबाट फरार भएका थिए । उनले प्रयोग गरेको मोटरसाइकल सहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला शौचालय जाने भन्दै उनी हिरासतबाट फरार भएका हुन ।
श्रोत नखुलेको रकम सहित पक्राउ परेका व्यक्ति फरार भएपछि सिमाक्षेत्रमा चेकजाँचमा कडाई गरिएको छ । फरार भएका व्यक्तिका बारेमा सशस्त्र प्रहरी बलको ११ नंम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन भने नेपाल प्रहरीले यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताएको छ ।
घटनाका समबन्धमा आफुहरुलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए । यता भन्सार कार्यालय श्रोतले भने नगद सहित पक्राउ परेका व्यक्तिलाई बुझाउने क्रममा नीज फेला नपरेको जनाएको छ ।