रौतहटमा एकै दिन २ युवकको शव फेला

   ३ असार २०८१, आईतवार १२:१९  

२ असार, रौतहट । रौतहटको अलग अलग स्थानमा हिजो एकै दिन गौरका दुई युवकको शव फेला परेको छ ।

रौतहटको बाग्मती नदी र लालबकैया नदी किनारमा गौर नगरपालिकाका दुई युवकको शव फेला परेको हो । पहिलो शव गौर नगरपालिका वडा नं. ५ का २० वर्षिय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षिय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृत अवश्थामा फेला परेका दुवै युवकका परिवारजनले छोराको हत्या भएको र दोषीलाई पक्राउ गरि कारवाही गर्न माँग गरेका छन । यता प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको जनाएको छ ।

“२० वर्षिय युवकको शव जुन अवश्थामा भेटिएको छ त्यसले हत्या भएको हो भन्ने देखाउछ ।” गौर नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष शिवशंकर यादवले भने “मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको छ भने मुखबाट रगत बगेको प्रष्ट देखिन्छ ।”

यसैगरी गौर ४ मा रहेको लालबकैया नदी किनारको केराघारीमा शव भेटिएका रोहित सहनीको परिवारजनले पनि आफ्नो छोराको हत्या भएको दाबी गरिरहेका छन । “राहुलको लगाएको सर्ट उसको घाटी निर बेरिएको छ, अष्डकोषमा रगत देखिएको र नाक तथा आँखाबाट रगत बगेको देखिएको छ ।” मृतकका दाजु संजय सहनीले भने “शव फेला परेको स्थान केराघारीमा घिसारीएको दागहरु छन । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्नुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरिक्षक दिलिप घिमिरेले दुवै घटनाको अनुसन्धान भइरहेको बताए । “हत्या हो वा अन्य कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गरी रहेका छौं । दुवै युवकको शवलाई पोष्टमार्टमका लागी काठमाण्डौ पठाउदै छौं ।” शव परिक्षण पश्चातको रिपोर्टबाट मृत्युको कारण खुल्ने उनले बताए । घटनाका सम्बन्धमा परिवारजनले दिएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको खोजी तथा अनुसन्धान गरिरहेको एसपी घिमिरेले बताए ।

एकै दिन दुई युवकको मृत्यु पछि वडा नं. ४ र ५ शोकमग्न बनेको छ । पछिल्लो समय रौतहटमा हत्याका घटनाहरुका वृद्धि भएको छ । एक साता अघि मात्रै रौतहटको राजपुर नगरपालिका १ मा ४५ वर्षिय पुरुषको घाटी रेटेर हत्या गरिएको अवश्थामा शव फेला परेको थियो ।