मधेश सरकारबाट बाहिरियो एमाले र माओवादी, अल्पमतमा मधेस सरकार

   ३० बैशाख २०८१, आईतवार १७:५८  

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।

राजीनामा दिनेमा उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साह रहेका छन् ।  साथै माओवादी केन्द्रले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ ।

मधेश सरकारबाट एमाले पनि बाहिरियो

नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।

मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।

मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।

योसँगै मधेश प्रदेसको सरकार अल्पमतमा परेको छ । यहि बैशाख ४ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिदा ६१ मत पाएका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ । मधेशमा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।