राति १० बजे सम्म होटल संचालन हुनुपर्ने माँग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

   १३ बैशाख २०८१, बिहीबार १४:५६  

वैशाख । व्यापार हुने समयमै प्रहरी प्रशासनले पसल बन्द गराउदा मारमा परेका व्यापारीहरुले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा गएका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई आफ्नो पीडा बताएका थिए । गौर नगरक्षेत्रमा रहेका होटेल व्यवसायलाई प्रहरीले राति ८ बजे पछि संचालनमा रोक लगाए पछि होटेल व्यवसायीहरुले आफुहरुको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन ।

“गौर नगरक्षेत्रमा रहेका होटेलहरुलाई प्रहरीले ८ बजे नै बन्द गराए पछि व्यवसायीहरु मारमा परेका छन ।” रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले भने “राजश्व तिरेर संचालनमा रहेका होटेल तथा मदिरा पसलहरुलाई निर्वाध रुपमा १० बजे सम्म संचालन गर्न दिनुपर्ने हाम्रो माँग रहेको छ ।”

प्रहरीले ८ बजे पछि होटेलहरुलाई बन्द गराउने गरेकोले व्यापार व्यवसायमा निकै ह्रास आएको व्यवसायीहरुले बताएका छन । गर्मीको मौसममा ८ बजेपछि मात्रै ग्राहकहरु आउने तथा सोही समयमै प्रहरीले पसल बन्द गराउने गरेपछि आफुहरु पीडित बनेको व्यवसायीहरु बताउछन । ज्ञापन पत्र बुझाउने कार्यक्रममा व्यवसायी रितेश अग्रवाल, रवी गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।