सुरक्षा अधिकारीको सरुवा कारबाही होइन – गृहमन्त्री लामिछाने
जनकपुरधाम । मधेश प्रदेशमा पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा अधिकारीको सरुवालाई कारबाहीको रुपमा लिन नहुने बताएका छन् ।
गृहमन्त्री लामिछानेले भने, ‘जो जहाँ गए पनि परफमेन्स राम्रो होस् । त्यहाँका नागरिकलाई सुरक्षा दिइयोस् । नागरिकले सुरक्षा महसुस गर्न पाऊन् । गुण्डागर्दी नियन्त्रण होस् । भ्रष्टाचार अन्त्य होस् । प्राकृतिक स्रोतसाधनको दोहन बन्द गरियोस् । बोर्डरमा हुने गरेको अवैध गतिविधि नियन्त्रण गर्न सकियोस् । यो उद्देश्यका लागि सरुवा गरिने हुनाले कारबाहीको रुपमा लिनुहुँदैन ।’
जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै उनले काठमाडौंमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् ।
उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा ढुंगामुढा गर्ने जस्ता परिस्थिति सृजना भएपछि नियन्त्रणमा लिने क्रममा त्यस्तो मेजर घटना देखिएको छैन । यद्यपि सुरक्षित गर्नुपर्दा घटना भइ नै हाल्छ । त्यसलाई सुधार्न सकिन्छ ।’
गृहमन्त्री लामिछानेले प्रहरी समायोजनको ड्राफ्टमा काम भइरहेको पनि बताए ।
प्रहरी समायोजनको ड्राफ्टमा त्रुटि रहेको संकेत गर्दै उनले भने, ‘मैले गृह मन्त्रालय सम्हालेपछि प्रहरी समायोजनको ड्राफ्टमा बृहत छलफल ग¥यौं । मैले स्पष्ट भन्नुपर्दा त्यसमा काम गर्नुपर्ने थुप्रै ठाउँहरु छन् ।’
गृहमन्त्री लामिछानेले मुख्यमन्त्रीहरुलाई समेत प्रहरी समायोजनमा गर्नुपर्ने कामहरुबारे बताएको भन्दै त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने विषयमा छलफल चलिरहेको बताए ।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘प्रहरी समायोजन कहिलेसम्म गरिहाल्ने भन्ने कुरा ठ्याक्कै भन्न सकिँदैन । प्रधानमन्त्रीज्यूको प्राथमिकताको विषय हो । त्यसैले पनि विनाकारण अलमल्याउनुपर्ने कुरा त छैन । तर, हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । हतार गरेर अधुरो गर्नुभन्दा पनि त्यसलाई सही ढंगले अध्ययन गरेर गर्ने हो ।’
गृहमन्त्री लामिछानेले सुरक्षाको दृष्टिले तुलनात्मक रुपमा मधेश प्रदेशमा समस्या रहेको भन्दै समाधान गर्न सामूहिक छलफल गरेको जानकारी गराए ।






