हतियार सहित नेपाल प्रवेश गरेर लुटपाट गर्ने पक्राउ

३ चैत्र, रौतहट । रौतहटको परोहा नगरपालिका वडा नं. ९ खाप चोकमा रहेका शिव मनी ट्रान्सफरमा गोलि प्रहार गरी रकम लुटपाट गर्ने ३ जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
घटनामा संलग्न भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्ला चिरैया थाना अन्तर्गतको दिपही गाउँका १९ बर्षिय मुनिष भन्ने मुनिफ कुमार यादव, सोही स्थानका १८ बर्षिय राधा भन्ने राजकुमार पासवान र २० बर्षिय चुनु कुमार सिंह भन्ने चन्द्रभान सिंहलाई आज प्रहरीले सार्वजनिक गरेको छ ।
घटना पश्चात प्रहरी तथा स्थानियको सहकार्यमा तिनै जनालाई तत्कालनै पक्राउ गरि लुटीएको एक लाख २५ हजार रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले बताए ।
हतियार सहित सजिलै नेपाल छिरेका थिए भारतीय लुटेरा
परोहा नगरपालिका वडा नम्वर ९ स्थित खाप चोकमा २६ बर्षिय नितेस साहले संचालन गरेको शिव मनी ट्रान्सफरको रेकि लुटेराहरुले तिन महिना पहिले देखीनै गरेका थिए ।

बिहारको चैनपुरबाट विआर ०६ सीएल ९७९६ मोटरसाइकल चढेर हतियार सहित नेपाल भित्रिएका उनीहरुले एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली १ थान, ७.६२ एमएम को गोली लाग्ने अर्ध स्वचालित पेस्तोल १ थान र सोमा लाग्ने म्याग्जीन सहित ५ राउण्ड गोली राउण्ड गोलि भिरेर मुनिफ कुमार यादव र चन्द्रभान सिंह मनी ट्रान्सफर रहेको भवनमा पुगेका थिए भने अर्का लुटेरा राजकुमार खालि हात भित्र पसेका थिए ।
स्वचालित पेस्तोल र कटुवा बोकेर आएका तिन जना भारतीय अपराधीहरुले काउन्टरमा बसेका संचालक साहलाइ गन प्वाइन्टमा लिएर भएको रकम लिएर निस्कने क्रममा संचालक साहले प्रतिकार गर्न खोजे पछि उनको कञ्चटमा गोलि प्रहार गरी मोटरसाइकलमा भागेका थिए ।
चन्द्रभान सिंहले यस अघि भारतमै एक बैंक लुटेका थिए । जमानतमा बाहिर रहेका उनी गोवाको एक क्लबमा सुरक्षागार्डका रुपमा काम गर्दथे ।
खुला सिमानाले सुरक्षा चुनौती : एसपी श्रेष्ठ
दिनदहाडै भारतबाट हतियार सहित नेपाल प्रवेश गरेर गोलि प्रहार गरी लुटपाट भएको घटना पछि सिमाक्षेत्रमा रहेको सहकारी तथा मनी ट्रान्सफर जस्ता वितिय कारोवार गर्ने मात्रै होइन व्यापारीमा पनि त्राश उत्पन्न भएको छ ।

खुला सिमानाका कारण अपराधीहरु सहजै एक देशबाट अर्को देशमा घटना घटाएर फरार हुने भएकोले सुरक्षा चुनौती उच्च रहेको छ । “खुल्ला सिमानाका कारण कुन व्यक्ति कहाँबाट नेपाल प्रवेश गर्छ भन्ने गाह्रो छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक महेन्द्र श्रेष्ठले भने “भौगोलिक अवश्थाका कारण र सुरक्षा युनिट नभएको ठाँउबाट छलेर यस्ता अपराधीहरु नेपाल तर्फ प्रवेश गरेको देखिन्छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीबल दुवैले सिमाक्षेत्रमा निगरानी तथा सुरक्षा सर्तकता बढाएको उनले बताए । “हिजोको घटना दुःखद थियो तर हामीले तत्कालनै प्रहरी परिचालन गरेर घटनामा संलग्न सबैलाई पक्राउ गरेका छौं ।” उपरिक्षक श्रेष्ठले भने “स्थानिय जनता तथा सुरक्षाकर्मी दुवैको सहयोगमा लुटपाटमा संलग्नलाई पक्राउ गरेर कानूनी कारवाही अगाडी बढाएका छौं ।”
घटनामा घाइते भएका नितेश साहलाई थप उपचारका लागि वीरगंजबाट काठमाण्डौं पठाइएको उनले बताए ।