मौलापुरमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा

   २५ फाल्गुन २०८०, शुक्रबार १७:४२  

२५ फागुन, रौतहट । रौतहटको मौलापुरमा आज बाट मधानी महोत्सव शुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोबिन्दाले कार्यक्रम प्रस्तुत गरेका छन ।

मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन हिन्दी चलचित्रका सुपरस्टार अभिनेता गोबिन्दा रौतहट आएका हुन । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे । उनको प्रस्तुती हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक आएका छन ।

रौतहट आउन पाउदा आफुलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफुले सदैव पाएको बताए । पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए । दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन सेत गोविन्दाले दिए ।

नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा आजबाट मधानी महोत्सव शुरु भएको हो ।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दीरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात सो स्थानमा मधानी महायज्ञको शुरुवात गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।

मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको जानकारी दिदै सोका लागि खानेपानी, विद्युत, सरसफाई, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भईसकेको र सिसिटिभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी आयोजकले गराएको छ ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा शुरु भएको सो कार्यक्रममा नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरुको उपस्थीति रहेको छ ।