जेसुकै परिवर्तन भएपछि हामी मिसन ०८४ छाड्दैनौं : ओली

   २१ फाल्गुन २०८०, सोमबार १४:२५  

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका निम्ति देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो फेरबदल भएको उल्लेख गरे । यथास्थितिको अन्त्य र अग्रगमनका निम्ति देशमा परिवर्तन आवश्यक भएको उनले बताए ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले, आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ । तर, जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन–२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए । उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।

मजदुरले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न उनले आग्रह गरे । उनले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे । रासस