अयोध्यामा प्राण प्रतिष्ठा, रौतहटमा मासु मदिरा बन्द

   ७ माघ २०८०, आईतवार १४:१५  

७ माघ, रौतहट । भारतको अयोध्याको राम मन्दिरमा भोलि सोमबार हुने प्राण प्रतिष्ठाको कार्यक्रमको अवसर पारेर रौतहटका विभिन्न स्थानहरुमा समेत पूजापाठ तथा नवनिर्मित मन्दीरहरुका भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम राखिएको छ ।

रौतहटको गौर नगरपालिका ५ मा रहेको नवनिर्मित भगवान रामको मन्दीरमा विधिपूर्वक प्राण प्रतिष्ठा गरी मूर्ति स्थापना हुने भएपछि गौर नगरपालिकाले ८ गते एक दिनका लागी गौर नगरक्षेत्रमा कुनै पनि किसिमको पशुपंक्षीको मासु तथा माछा विक्रिवितरणमा रोक लगाएको छ । सो दिन मदिराजन्य पदार्थको विक्रिमा पनि रोक लगाइएको गौर नगरपालिकाका मेयर शम्भू साहले बताए ।

यसै गरी परोहा, चन्द्रपुर, इशनाथ नगरपालिका तथा यमुनामाई र दुर्गाभगवति गाँउपालिकाले ७ र ८ गते मासु, माछा तथा मदिरा विक्रिवितरणमा प्रतिबन्ध लगाएको छ । पालिकाले सूचना जारी गर्दै मासुका लागी कुनै पनि जनावरको वध गर्न मनाही गरेको छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठाको अवसरमा रौतहटका विभिन्न स्थानहरुमा रहेका रामजानकीका मन्दीरहरुमा सरसफाई गरी मन्दीरलाई श्रृगांरीएको छ । सदरमुकाम गौरमा रहेको निकै पुरानो राममन्दीरलाई जिर्णोद्धार गरी नयाँ बनाइए पछि मंगलवार विधिपूर्वक मूर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ ।

गौर नगरक्षेत्रका मुख्य सडकहरुलाई ध्वजा पताकाले सजाइएको छ भने घरघरमा भगवान राम र हनुमानको झण्डा लगाइएको छ ।