कोरिया जान नपाएकाले जलाए मन्त्रीको गाडी, बालकुमारी तनावग्रस्त

   १३ पुष २०८०, शुक्रबार १३:१९  

१३ पुष, काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएका छन् । ईपीएस कोरिया शाखामा भेला भएका सयौं युवा बालकुमारी-सातदोबाटो सडकमा तोडफोड र ढुंगामुढामा उत्रिएका हुन् ।

उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् । उक्त क्षेत्र अहिले तनावग्रस्त छ । युवाहरूले अहिले सडक कब्जा गरेका छन् । सडकमा सवारी आवागमन पूर्ण बन्द छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।

प्रदर्शनकारीले मलाई निकालेर गाडीमा आगो लगाएः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर गाडीमा आगो लगाइएको बताएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन्।

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं।

उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ,’ उनले भने।

आफूसहित दुईजना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए।