बारामा प्रिन्सिपलको हत्यामा संलग्न भारतीयलाई प्रहरीले गोली हानेर समात्यो

   ११ पुष २०८०, बुधबार ०८:४७  

११ पुस, जनकपुरधाम । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।

प्रहरीले दुई महिना पछि कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।

स्वर्णकारको हत्यामा सम्लग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः उनलाई मंगलवार राती करिब ९ बजे २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जनाएका छन् । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।

विश्रामपुर गाउँपालिका वडा नं. ३ मा देखिएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक काफ्लेले जनाएका छन् ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।

गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।