एनसेलको सेयर खरिदबिक्री रोकेर अनुसन्धान गर्न लेखा समितिको सरकारलाई निर्देशन
“यो कारोबार अपारदर्शी र संसयपूर्ण छ । अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिदबिक्री रोक्नेर अनुसन्धान गर्नुपर्छ । ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी जानकारी गराउन सरकारलाई निर्देशन दिइएको छ,” लेखा समितिले निर्णय गरेको छ ।
“हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत सेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकोले अनुसन्धान गरि निष्कर्षमा नपुगुन्जेल अवधिभरको लागि यस सेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न), तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरि तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्छ,” निर्णयमा भनिएको छ, “साथै यस सेयर खरिद बिक्री सम्बन्धमा भएको कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष लगानी जोखिमयुत्तः रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा यथाशिघ्र (४८ घण्टाभित्र) सार्वजनिक गर्न समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।”






