भूकम्प अपडेट : १३३ को मृत्यु, १४० घाइते

   १८ कार्तिक २०८०, शनिबार १३:१४  

१८ कार्तिक, काठमाडौं । गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म १३२ जनाको ज्यान गएको छ ।

जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा बढी क्षति पुगेको छ । अहिले पनि ती क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार जाजरकोटमा बिहान सवा ८ बजेसम्म ९५ जना र रुकुम पश्चिममा ३७ को मृत्यु भएको छ ।

समाचार तयार पार्दासम्म ती क्षेत्रमा जम्मा १४० बढी घाइते भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, राजनीतिक दलका कार्यकर्तालगायत उद्धारमा खटिएका छन् ।

जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।