मलंगवमा राति ८ देखी बिहान ४ बजे सम्म कर्फ्यू

८ असोज, रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यूको समय परिवर्तन भएको छ ।
आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज ४ गते राति जारी भएको कर्फ्यू आदेशलाई परिमार्जन गरेको हो । ४ गते बिहिवार राति मूर्ती सेलाउने क्रममा दुई समुदाय बिच विवाद शुरु भएर झडपको अवश्था आएपछि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले कर्फ्यू आदेश जारी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सुरक्षा समितिको बैठकले २४ घण्टाको कर्फ्यू आदेशलाई निष्कृय गर्दै आजबाट राति ८ बजे देखी बिहान ४ बजे सम्म कफ्र्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । प्रशासनले कर्फ्यू हटाए पनि दिउसोको समयमा निषेधाज्ञा रहने निर्णय भएको छ ।
“दिउसोको समयमा कर्फ्यू आदेश निष्कृय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मलंगवा नगरक्षेत्र भित्र कुनै पनि किसिमको जुलुस, सभा, भेला वा प्रर्दशन गर्न, पोष्टर तथा पम्पलेट टास्न, प्रचार सामाग्री लेख्न निषेध गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।
यसै गरी सामाजिक संजाल मार्फत अफवाह, समाजिक सदभाव बिगार्ने खालका हल्ला फैलाउने व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई साइबर अपराध अभियोगमा कारवाही गर्ने निर्णय समेत भएको उनले बताए ।
बैठकमा सार्वजनिक सम्पतीको तोडफोड गर्ने, आगजनी तथा सामाजिक सदभाव बिगार्ने कार्यमा संलग्न रहेका दोषीहरुलाई कानून बमोजिम कडा कारवाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
विगत केही दिन यता मलगंवाको शान्ती सुरक्षामा चुनौती देखिएपछि स्थानिय प्रशासनले मलंगवामा कर्फ्यू आदेश जारी गरेर व्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो ।