क्यानको निर्वाचन साधारण सभा आज, नयाँ नेतृत्व भोलि चयन हुने

   ५ आश्विन २०८०, शुक्रबार ११:०८  

५ असोज, काठमाडौं। नेपाल क्रिकेट संघ-क्यानको निर्वाचन साधारण सभा शुक्रवार सुरु हुँदै छ। बालुवाटारस्थित आन्मपाली बैंक्वेटमा दिउँसो साढे १२ बजे साधारण सभाको उद्घाटन हुने छ।

क्यानका अनुसार पहिलो दिन उद्घाटन र बन्द सत्र मात्र हुने छ। शनिवार नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ। १७ सदस्यीय केन्द्रीय कार्य समितिका लागि ८६ जनाले मतदान गर्नेछन्।

नेपाल क्रिकेट संघ (क्यान) को भावि अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध नहुने निश्चित भएको छ । चुनावको पूर्वसन्ध्यामा बर्दियाका विनय राजभण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

क्यानको नयाँ नेतृत्व छनोट गर्न आजबाट केन्द्रीय अधिवेशन सुरु हुँदैछ । आज उद्घाटन र बन्दसत्र हुने छ भने भोलि नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । क्यानको १७ सदस्यीय कार्यसमितिका लागि ८६ जनाले मतदान गर्नेछन् ।

क्यानका वर्तमान अध्यक्ष चन्द फेरि सो पदमा दोहोरिन चाहन्छन् । उनले पहिल्यैदेखि आफू अध्यक्षमा फेरि लड्ने बताउँदै आएका छन् । राजभण्डारीले भने भर्खरै मात्र उम्मेदवारी घोषणा गरेका हुन् । जितको लक्ष्य सहित उम्मेदवारी दिन लागेको उनको दावी छ ।

राजभण्डारी बर्दिया क्रिकेट संघका अध्यक्ष हुन् । उनी २० वर्षदेखि नेपाल क्रिकेट संघमा आवद्ध छन् । बर्दिया जिल्ला क्रिकेट संघको सदस्य, सहसचिव सचिव हुँदै अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । हालै भएको प्रदेश अधिवेशनबाट उनी लुम्बिनी प्रदेशको उपाध्यक्षमा समेत निर्वाचित भएका छन् ।

नेतृत्वमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने सम्भावना बलियो रहेको छ । उनलाई पारस खड्काले समर्थन गरेको बुझिएको छ। सचिवमा चन्दले खड्कालाई साथ दिएका छन्। जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य बनेको हो।

यसअघि जिल्ला र प्रदेश चुनाव दौरान चन्दलाई रोशन सिंह, प्रशान्तविक्रम मल्ल र दुर्गाराज पाठकले अध्यक्षमा समर्थन गर्ने र अन्य पदमा आपसमा बाँडेर बस्ने चर्चा चलेको थियो। अध्यक्षमा उठ्ने चर्चा चलाएका सिंह पछि ‘ब्याक’ भएका थिए। उनी फेरी चन्दकै समर्थनबाट कोषाध्यक्षमा उठ्ने चर्चा छ। पाठक र मल्लको भूमिकाबारे केही खुलेको छैन।

‘चुनाव हो, एक एक छिनमा समीकरण फेरिन्छ। त्यसैले उम्मेदवारी घोषणा नहुँदासम्म केही भन्न सकिने अवस्था छैन’, चन्दनिकट स्रोतले भन्यो। यता खड्का सचिवमा निर्विरोध हुनेमा ढुक्क देखिएका छन्। चन्द समूहसँगको सहकार्यले सचिवमा अन्यको उम्मेदवारी नपर्ने उनको विश्वास रहेको छ।