रौतहटमा बाढीको त्राश

   २३ श्रावण २०८०, मंगलवार १६:४०  

२३ साउन, रौतहट । पहाडी भेगमा केही दिन देखी परेको वर्षाका कारण रौतहटको बागमती र लालबकैया नदीमा बाढी आएको छ । पूर्वमा रहेको बाग्मती नदी खतराको स्तर भन्दा माथिबाट बगिरहेको छ ।

रौतहटका अधिकाशं भागमा विगत दुई दिन देखि लगातारको वर्षा भइरहेको छ । चुरेक्षेत्रमा भिषण वर्षा भएपछि आज बिहानै देखी बागमती नदीको जलस्तरमा वृद्धि भएको हो । बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रले बागमती नदीले खतराको तह पार गरेकोले रौतहट र सर्लाहीका नदी किनारका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आव्हान गरेको छ ।

पहाडी तथा चुरे भेगमा भईरहेको बर्षाबाट वागमती नदीको बहाव उच्च भएपछि मंगलवार विहानै वागमती सिंचाई आयोजनाको ३६ वटै ढोका खोलिएको पधेरादोभान जल सतह मापन केन्द्रका प्रमुख निलाम्बर खनालले बताए । बागमती नदीको सिचाई ब्यारेज भन्दा उतर पानीको सतह साढे ६ मिटर भन्दा बढी पानीको गहिराई भएमा खतरा मानिन्छ । बाग्मती नदीमा पानीको गहिराई अहिले ९ मिटर भन्दा बढी पुगेको छ ।

बाग्मती नदीले रौतहटको माधवनारायण ८ मा कटान गरीरहेको रौतहटका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले बताए । “बागमती नदीमा आएको बाढीले दुर्गा भगवति ३ मा खताराको अवश्था श्रृजना गरेको छ ।” जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बुढामगरले भने “नदीको जलस्तर उच्च र बढने क्रममा रहेको छ । बाधमा क्षति पु¥याएकोले तत्काल मर्मतको काम गरिरहेका छौं ।” नदीको जलस्तर लगातार वृद्धिभए सो स्थानमा बाढीले बाध पार गरेर बस्ती डुबान गर्ने खतरा रहेको छ ।

बागमतीमा आएको बाढीमा गढीमाई नपा ३ मा एक पुरुष डुबे पछि उनको उद्धार गरी उपचारका लागी पठाइएको उनले बताए । यसैगरी लालबकैया नदीको बाढीमा  यसैगरी मौलापुर १ मा लालबकैया नदी पारि घास काटन गएका एक पुरुष बाढीको फसेका छन । उनको उद्धारका लागी मोटरबोट सहितको सुरक्षाकर्मी परिचालन गरिएको एसपी बुढामगरले बताए ।