जनप्रतिनिधिकै अगाडी युवकलाई पोलमा बाधेर कुटपिट
१६ साउन, रौतहट । रौतहटको गौरमा जनप्रतिनिधिकै अगाडी एक युवकलाई बिजुलीको पोलमा बाधेर कुटपिट गरिएको छ ।
गौर नगरपालिका ३ पोखरीया टोलमा वडाअध्यक्षकै अगाडि स्थानिय २० वर्षिय युकव प्रिन्स अन्सारीलाई १ घण्टा भन्दा बढी समय सम्म बाटो छेउको पोलमा बाधेर निर्घात कुटपिट गरिएको हो । युवकलाई कुटपिट गरिरहदा वडा अध्यक्ष अब्दुल ताहिर पनि घटनास्थलमै उपस्थीत भएर हेरिरहेका थिए ।
शुक्रवारका दिन दिउसो नमाज सकिए पछि आइसक्रिम खाने विषयमा विवाद हुदा स्थानिय साजिद अन्सारी, आस मोहम्मद, सोनु अन्सारी र हाकिम अन्सारीको समुहले प्रिन्सलाई समातेर पोलमा बाधेका थिए । पोलमा बाधेपछि उनीहरुले पाइप, लाठी र मुक्का प्रहार गर्दै प्रिन्सलाई निर्घात कुटपिट गरेको घाइतेका दाजु इलियाश अन्सारीले बताए ।
“हामी सबै वीरगंज गएका थियौ, घरमा कोहि नभएको बेला भाइलाई वडा अध्यक्षकै सामुन्ने निर्घात कुटपिट गरे ।” घाइतेका दाजु इलियाश अन्सारीले भने “१ घण्टा सम्म पोलमा बाधेर कुटपिट गर्ने सबैलाई भिडियोमा प्रष्ट देख्न सकिन्छ त्यसैले दोषीलाई कानूनी कारवाही गरि न्याय दिलाउनु पर्छ ।”
कुटाई खाने युवक गौरकै पूर्व उपमेयरका छोरा हुन । घटनामा संलग्न वडा अध्यक्ष सहितको आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिनु पर्ने अन्सारीले बताए । युवकलाई कुटपिट गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । घटनाका बारेमा वडाअध्यक्षलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन ।
घटनाको जानकारी आए पछि संलग्न एक जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । “घटनामा संलग्न साजिद अन्सारीलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेका छौं ।” जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक वीरबहादुर बुढामगरले भने “सार्वजनिक स्थानमा कानूनको अवहेलना गर्दै कुटपिट गर्नेहरुका बारेमा छानबिन भइरहेको छ ।” पीडित परिवारले ल्याएको जाहेरीका आधारमा कानूनी प्रक्रिया अगाडी बढने उनले बताए ।






