जिल्ला प्रशासनमा निर्माण व्यवसायीको धर्ना

   १४ श्रावण २०८०, आईतवार १७:१२  

१४ श्रावण , रौतहट । निर्माण व्यवसायी संघ रौतहटले विभिन्न माँगहरु राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिएका छन ।

निर्माण सम्पन्न भएका योजनाहरुको भुक्तानी, म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राख्दै निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा आज धर्ना दिएका हुन ।

नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला प्रशासन कार्यालयहरुमा आज धर्ना दिएको निर्माण व्यवसायी संघका सदस्य अरबिन्द जयसवालले बताए । आफुहरुले सम्पन्न गरेको कामको समेत भुक्तानी नपाए पछि अहिले निर्माण व्यवसायीहरु आर्थिक मारमा परको उनले बताए ।

निर्माण व्यवसायीहरुले रौतहटमा रहेको सडक डिभिजन कार्यालयसँग ३० करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको छ भने विभिन्न स्थानीय तहहरुबाट १० करोड बढीको भुक्तानी बाँकी रहेको जयसवालले बताए । “गरेको कामको भुक्तानी नहुदा निर्माण व्यवसायीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ ।” निर्माण व्यवसायी अरबिन्द जयसवालले भने “करोडौं रुपैया फसेपछि निर्माण व्यवसायीहरु चरम आर्थिक संकटमा परेका छन ।”

१६ साउनमा देशैभरिका निर्माण व्यवसायीले आफ्ना माँगहरु पूरा गराउन काठमाण्डौंमा बृहत प्रर्दशन गर्ने निर्माण व्यवसायी जयसवालले बताए ।