गौर हत्याकाण्डका दोषिलाई कारवाहीको माँग गर्दै प्रर्दशन

   १ श्रावण २०८०, सोमबार १४:३०  

१ साउन, रौतहट । २७ जनाको ज्यान गएको गौर हत्याकाण्डका दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाहीको माँग गर्दै आज रौतहटमा प्रर्दशन भएको छ ।

२०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो । गौर नरसंहार भएको १७ वर्ष सम्म पनि आफुहरुले न्याय नपाएको भन्दै आम जनता पार्टीले आज रौतहटको गौरमा प्रर्दशन गरेका हो ।

पीडित परिवारका सदस्यहरु सहभागी सो प्रर्दशनमा प्रर्दशनकारीहरुले हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएकोले उनलाई तत्काल पक्राउ गर्नु पर्ने माँग गरेका छन । अध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी समेत दर्ता रहेको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् ।

पछिल्लो समय राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेपनि दोषीहरुलाई कारवाही हुन नसकेको पीडित परिवारजनको गुनासो रहेको छ । उनीहरुले आजै प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाको जाहेरी अनुसार न्यान दिलाउन माँग गरेका छन । गौर घटनामा मृत्यु भएका नर्मदेश्वर उपाध्यायकी पत्नी रुपसागर उपाध्यायले भनिन “त्यती निर्मम तरिकाले कुटेर मार्दा समेत सरकारले अहिले सम्म पीडित परिवालाई न्याय दिलाउन सकेको छैन ।”

सरकारले गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरेमा आफुहरुले आन्दोलनका थप कार्यक्रमहरु गर्ने आम जनता पार्टीका नेता उपेन्द्र साहले बताए । “१५ साउन सम्म पनि घटनाका मुख्य नाइके सहितका दोषीलाई पक्राउ गरिएन भने आन्दोलनका कार्यक्रम शसक्त बनाउछौं ।”

के थियो घटना ?

सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादी दुवैले मञ्च बनाएर कार्यक्रम गर्न थाल्दा शुरु भएको झडपले विकराल रुप लिदा २७ जनाको ज्यान गएको थियो ।

एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।

गौर राइसमिलको उतर पट्टि माओवादी र दक्षिण पट्टि फोरमले कार्यक्रमको लागी मंच बनाएका थिए । प्रहरी प्रशासनको कमजोरीका कारण गौरमा चैत्र ७ गते २७ जनाले ज्यान गुमाएका थिए ।