मधेशमा ‘हिट वेभ’, अझै ५ दिन गर्मी बढ्ने अनुमान

   २५ जेष्ठ २०८०, बिहीबार ०८:४८  

२५ जेठ, काठमाडौं : विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। देशको तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ ।आगामी केही दिन तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने महाशाखाले बताएको छ। त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू (हिट वेभ)को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा बुधबार अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको थियो । दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो ।

यस्तै जेठ १८ गते रौतहटको गौरमा ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।

तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

तातो हावा तथा लूका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने लक्षण देखिने महाशाखाले जनाएको छ।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी हिँडडुल नगर्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ।