मुख्यमन्त्री र सुरक्षा अधिकारीको अगाडी नै गाँउले बग्न थाले पछि 

   २४ जेष्ठ २०८०, बुधबार १६:४३  

२२ जेठ, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित बाग्मती नदी किनारमा कार्यक्रम संचालन भइरहेको बेला बाग्मतीको नदीको पानीमा डुब्दै गरेका दुई गाँउले गुहार माग्दै कराउन थाले ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी जनक भट्टराई, सशस्त्र प्रहरी बल छिन्नमस्ताका बाहिनिपति डिआइजी दिपेन्द्र शाह सहितको उपस्थीतिमा कार्यक्रम भइरहेको स्थल भन्दा झण्डै सय मिटर उतर बाट आएको त्यो आवाजले सबैको ध्यान उतै तान्यो । बाग्मती नदी माथिको झुलुङ्गे पुलमा रहेका सशस्त्र प्रहरीका जवानहरु तुरुन्त हरकतमा आए, पुल माथि बाट डोरी फाले, त्यसैमा झुण्डीएर उर्लिएको बाग्मतीमा पसे र बगिरहेका दुई जनालाई नदी किनार सम्म सुरक्षित पु¥याए । नदी किनारमै रहेको नेपाली सेनाको मेडिकल टिमले तुरुन्त उनीहरुको प्राथमिक उपचार गरे ।

नुनथरको बाग्मती किनारमा दुई जनाको उपचार हुदै गर्दा नदीबाट फेरी गाँउलेहरु चिच्याएको आवाज आउन थाल्यो । केही गाँउले नदीमा बग्दै ‘बचाउ बचाउ’ भनेर कराइरहेका थिए । नदी किनारमै रहेको प्रहरीको अर्को एक टोलि रबर बोट लिएर डुबिरहेका गाँउले तर्फ हुइकिए तर गाँउलेलाई जोगाउन गएको सो रबर बोट बाग्मतीको भेलमा आफै पल्टीयो । नदी किनारमा रहेका मधेश प्रदेशका मुख्यमन्त्री र उच्च सुरक्षाअधिकारी सहित ८ जिल्लाका प्रहरीका सुरक्षा अधिकारीहरु हेरेको हेरै भए ।

नदीको पानीमा डुबेकालाई उद्धार गर्न भएको रबर बोटलाई सशस्त्र प्रहरीका उद्धारकहरुले फेरी पहिले अवश्थमा ल्याउदै गोताखोरहरुको मद्दतले बगेकाहरुको उद्धार गरी नदी किनारमा ल्याए । शुक्रवार बाग्मती नदीमा देखिएको यो दृश्यहरु भने प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यासको प्रर्दशनि थियो । बाग्मतीमा डुबेका ती गाँउलेहरु सबै सुरक्षाकर्मीनै थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तिनै सुरक्षा निकायको संयुक्त अभ्यासको अन्तिम दिन नमुना प्रदर्शन समारोहमा विपद् र विपदपश्चात तत्काल उद्धार गर्न तालिमप्राप्त उद्धारकहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।

अन्तीम दिनको सो समापन कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सुरक्षाकर्मीहरुले संयुक्त रुपमा देखाएको कलाको प्रशंसा गरे । “सिमित श्रोत साधनका बाबजुद पनि सुरक्षाकर्मीहरुले विपतका बेला आफ्नो ज्यानको समेत परवाह नगरेर काम गर्नु भएको छ ।” मुख्यमन्त्री यादवले भने “प्रदेश २ मा वर्षाको बेलामा बाढी र डुबानले ठूलो क्षति गर्ने गर्दछ । क्षति न्यूनीकरण गर्न हामीले दक्ष जनशक्तिको तयारी गर्नु पर्ने आवश्यक्ता छ ।” उद्धारकहरुलाई चाहिने आवश्यक सामग्रीको लागी आफूले यस वर्षको बजेटमा व्यवस्था गर्न लगाएको उनले बताए ।

मधेश प्रदेश मा वर्षाका बेला बाढी र डुबानको समस्याहरु आउने हुनाले विपत भन्दा पहिलेको पूर्व तयारीको काम गर्नु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा तिनै तहका सुरक्षाकर्मीहरुले विपदका बेला उद्धारमा प्रयोग हुने सामग्रीहरुको प्रर्दशन समेत गरेका थिए ।