जनकपुरका पान पसले युवाको सगरमाथा शिखर चुम्ने सपना
जेष्ठ २१ ।
२५ तारिख (११ जेठ) बिहीबार राति रञ्जितकुमार साह र उनका गाइड लाक्पानुरी शेर्पा साउथ समिट (८६००) मिटरमाथि उक्लिसकेका थिए । चुचुरो पुग्न करिब दुई सय मिटर बाँकी थियो । रातको १ बजेर ५५ मिनेटमा एक्कासि उनको जीपीएस अफ भयो । जीपीएस ट्र्याक गरिरहेका ङिमादेण्डी शेर्पालाई लाग्यो– पक्कै ब्याट्री सकियो ।
साउथ समिटबाट तीनदेखि पाँच घण्टाभित्र चुचुरोमा पुगिसक्नुपर्ने थियो ।
उनीहरूलाई सेटमा सम्पर्कको प्रयास गरियो । कुनै प्रतिक्रिया आएन । सोही दिनको साँझ वा भोलिपल्टसम्म चौथो शिविर फर्किएलान् भन्ने आशा थियो । शेर्पा गाइड साथै भएकाले रञ्जित सम्पर्कमा आउलान् भन्ने लाग्यो । तर, न उनीहरू चुचुरोमा पुगेको खबर आयो, न चौथो शिविर फर्किएको । दुवै सम्पर्कविहीन भए । अन्ततः रञ्जित र लाक्पानुरु साउथ समिटदेखि सधैंका लागि हराए ।
जनकपुर बसपार्कको दायाँतर्फ छेवैमा छ– रञ्जितको पानपसल । बुबाको पानपसल सम्हाल्दै आएका थिए रञ्जितले । औसतभन्दा फरक स्वभावका थिए । ११ महिना पानपसल चलाउँथे । एक महिना पसलको सटर झार्थे र फिरन्तेका रूपमा जनकपुरदेखि साइकलको पाइडल मार्थे ।
यसरी रञ्जितले जनकपुर–पशुपति, जनकपुर–हलेसी, जनकपुर–अयोध्या, जनकपुर–मुक्तिनाथ, जनकपुर–पाथीभराको सयौं किलोमिटर यात्रा गरिसकेका थिए । उनको मनमा एक्कासि साइकल लिएर सगरमाथा आधारशिविर जाने हुटहुटी पलायो । काठमाडौं पुगे । पर्यटन विभागमा सोधे । तत्कालीन विभागकी निर्देशक मीरा आचार्य उनको हुलिया देखेर छक्क परिन् ।
रञ्जित हिरो साइकल लिएर प्लास्टिक जुत्ताको साथमा आधारशिविर जाने तयारीमा थिए । मीराले बाटामा अप्ठ्यारो परे सहयोग गर्ने वाचासहित आधारशिविर यात्राको शुभकामना दिइन् । पातलो रेनकोट लगाएर प्लास्टिककै जुत्तामा २०७६ असोजमा रञ्जित सगरमाथा आधारशिविर र कालापत्थर पुगे । त्यहाँ पुगेपछि उनको सपना चुलियो । हिरो साइकल बोकेरै सगरमाथा चढ्ने सपना बुने । गोरक्सेपको लामा लजमा साइकल छोडेर पैदलै जनकपुर फर्किए ।
आधारशिविरदेखि जनकपुर फर्किने क्रममा मेरो भेट रञ्जितसँग ओखलढुंगामा भयो । उनले सगरमाथा चढ्ने प्रक्रिया र लाग्ने खर्चबारे सोधे । मैले बताएँ । सगरमाथा जानुअघि कुनै एउटा हिमाल चढ्नुपर्ने सुझाव दिएँ । त्यसका लागि सहयोगको अनुरोध गरे । त्यतिबेलै मेरा मित्र आङबाबु शेर्पाको कम्पनीले आमाडब्लम हिमाल आरोहणको तयारी गरिरहेको थियो । मैले सम्पर्क गराएँ ।
आधारशिविर पुगेर फर्किएको एक महिनापछि कात्तिक १२ गते भाइटीकाको दिन उनले ६ हजार ८ सय १२ मिटरको आमाडब्लम आरोहण गरे । निकै टेक्निकल मानिने आमाडब्लमको सफलतापूर्वक आरोहण गरेपछि आफ्नो सफलताको पहिलो खुसी टेलिफोनमार्फत मलाई बाँडे । त्यसपछि सगरमाथा आरोहणको तयारीमा लागे । तर, कोभिडका कारण २०७७ को वसन्त ऋतुमा हिमाल आरोहण रोकियो ।
कोभिडको दोस्रो चरण सुरु हुनुअघि साइकल लिएर सगरमाथा जाने अनुमतिका लागि हरप्रयत्न गरे । कानुनले वर्जित गरेकाले साइकल लिएर जाने अनुमति पाएनन् । आमाडब्लम गएर फर्किएपछि मात्रै थाहा पाएँ । रञ्जितले आमाको गहना बेचेर आमाडब्लम जाने खर्च जुटाएका रहेछन् । उनलाई आरोहणमा लैजाने कम्पनीले केही बढी शुल्क लिएको गुनासो गरे । सगरमाथाका लागि अर्कै कम्पनी खोजिदिन अनुरोध गरे । मैले ‘ह्याप्पी फिट’ नामक कम्पनीका मालिक देन्डी शेर्पासँग कुरा गरिदिएँ । देण्डी रञ्जितलाई आरोहणमा लैजान सहमत भए ।
तर, रञ्जितसँग आरोहणमा चाहिने खर्च थिएन । तत्कालीन प्रदेश २ का मुख्यमन्त्रीसँग पुगे, सहयोग माग्न । मुख्यमन्त्रीले ‘२०–२५ हजारले पुग्छ ?’ भनेर सोधेपछि उनी निरासिएर फर्किए । सगोलमा रहेको तीनतले घर दाजुको नाममा पास गरे । अंशमा परेको केही जमिन बेचे र करिब २० लाख जुटाए । त्यही बेलादेखि दाजुसँग उनको मनमुटाव भयो र बोलचाल बन्द भयो ।
आँसुसहितको त्यो बिदाइ
२०७८ वैशाख । रञ्जित सगरमाथा आरोहणका लागि हिँड्ने तयारीमा थिए । घरबाट बिदाइको तयारी भयो । बुबाआमाको कोठाको ढोकाअघि दुवैतिर कलश राखिएको थियो । रञ्जितले कोठाभित्र खाटमा बुबाआमालाई राखे, आफू भुइँमा बसे । काँसको थालमा बुबा–आमाको खुट्टा पालैपालो धोए । खुट्टा धोएको पानी पिए र ढोगे । आमा–बुबाले रञ्जितको शिरमाथि हात राखेर आशिष दिए । आमाको आँखाबाट आँसु बगिरह्यो ।
आशिष लिइसकेपछि रञ्जित उभिए । आमाले नेपालको राष्ट्रिय झन्डा ओढाइन् । आमा–बुबा दुवैलाई उभिन लगाए । मोबाइलमा राष्ट्रिय गान बजाए । राष्ट्रिय गान बजिसकेपछि रञ्जितले दायाँ हात उठाएर सिपाहीले झै सलाम गरे । अनि झोला बोकेर बाहिरिए । घरबाट खाली खुट्टै निस्किए ।
जनकपुर विमानस्थलमा चिनजानका साथीभाइले फूलमाला, खादा लगाइदिएर उनलाई शुभकामनासहित बिदाइ गरे । विमानस्थल छिर्ने बेला मैले सोधें, ‘रञ्जित चप्पल नलगाउने ?’ उनले भने, ‘विमान चढिसकेपछि मात्रै चप्पल लगाउँछु ।’ खाली खुट्टै जन्मेको ठाउँ टेकेर सगरमाथा शिखरको यात्रामा निस्किए । मैले शुभकामना दिँदै न्यानो अंकमाल गरेँ र हात हल्लाएँ ।
रञ्जितका दुर्भाग्य
मैले रञ्जितलाई सगरमाथा यात्राको दैनिकी टिपोट गर्न सुझाएको थिएँ । उनले डायरी बोकेका थिए । आरोहणबाट फर्केपछि त्यसैलाई आधार मानेर उनीबारे किताब लेख्ने सल्लाह थियो ।
म सोही दिन ओखलढुंगा फर्किएँ । काठमाडौं हुँदै उनी लुक्ला गए । सगरमाथा आधारशिविर पुगेको खबर मेसेन्जरमा गरे । स्कुले शिक्षा पूरा नगरेका उनी प्रायः भ्वाइस म्यासेज गर्थे । दोस्रो चरणको कोभिड चरम उत्कर्षमा थियो । आधारशिविरभरि कोभिड फैलिएको खबर सञ्चारमाध्यममा छाएको थियो । उनलाई गाइडले तीन पटकसम्म पहिलो शिविर लैजान कोसिस गरे । तर, ४५ मिनेटको बाटो उनले तीन घण्टामा पनि पूरा गर्न सकेनन् ।
त्यसपछि आधारशिविरमै फर्काइयो । उनलाई निमोनिया भइसकेको रहेछ । किनभने उनले जनकपुरको गर्मीमा ‘चिसो पचाउन’ दैनिक आधा घण्टासम्म डिप फ्रिजमा बस्ने अभ्यास गरेका रहेछन् । ग्यास सिलिन्डर बोकेर दैनिक तीन तला भर्याङमा ओहोरदोहोर गर्ने गरेको उनै सुनाउँथे । त्यति नै बेला ह्याप्पी फिट कम्पनीका मालिक देण्डी शेर्पा कोभिडग्रस्त भएर काठमाडौंमा उपचाररत थिए । मलाई देण्डीले निकै सास फेर्न कठिन अवस्थामा फोन गरे र भने, ‘सर तपाईंले रञ्जितलाई भन्दिनुपर्यो । ऊ हिँड्नै सकेको छैन । क्याम्प वान पनि पुग्न सक्दैन । तर, जबर्जस्ती म सगरमाथा चढ्छु मात्रै भन्छ । अब हामीले लैजाने अवस्था छैन । नत्र ऊ बेसक्याम्पमै मर्छ ।’ मैले देण्डीसँग ‘हुन्छ’ भनेँ र रञ्जितलाई फोन गरेँ । ‘ज्यान बाँचे फेरि चढ्न सकिन्छ, फर्केर आऊ’ भनेँ ।
नभन्दै रञ्जित फर्किए । काठमाडौंमा कोभिड परीक्षण पोजिटिभ देखायो । दुई दिनपछि एम्बुलेन्स रिजर्भ गरेर जनकपुर फर्किर्ए । त्यसको दुई दिनमा देण्डी शेर्पाको निधन भएको खबर आयो । रञ्जितको सपना अधुरै रह्यो । उनले मलाई पुनः सोही कम्पनीका अर्का सञ्चालक ङिमादेण्डीसँग भेटेर कुरा गरिदिनू भने । हामीले सँगै भेटेर काठमाडौंमा ङिमादेण्डीसँग कुरा गर्यौं । अर्को आरोहणका लागि केही छुट गरिदिन आग्रह गर्यौं । ङिमादेण्डीले बजेटमा छुट नहुने, तर पूर्वतयारीका लागि जाने ट्रेकिङ निःशुल्क गरिदिने बताए । गत वर्ष आरोहण सिजनअघिसम्म उनले खर्च जुटाउने कोसिस गरे । तर, खर्च नभएपछि जान नसक्ने भएको खबर म्यासेन्जरमा पठाए ।
यस वर्ष उनी गएको फागुनमा नुरुजाङबु शेर्पालाई गाइड लिएर आरोहणको पूर्वतयारी स्वरूप लाङटाङ पदयात्रामा निस्किए । लाङटाङमा १८ दिनको पदयात्रा सकेर फर्किएको केही दिनमै उनको बुबाको निधन भयो । शोकमै उनी सुटुक्कै सगरमाथा आरोहणका लागि घरबाट निस्के । दुर्भाग्यले उनलाई छोडेन । रञ्जितलाई तेस्रो शिविर पुर्याएर फर्काउने क्रममा गाइड नुरुजाङबुको ढाडमा समस्या आयो । नशा च्यापिएपछि दोस्रो शिविरदेखि नुरुजाङबुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगियो ।
कम्पनीले अर्का गाइड मिङमार शेर्पा पठाए । मिङमार पनि पेटको समस्या देखाएर दोस्रो शिविरबाट फर्किए । रञ्जित अलमलमा परे । कम्पनीले पनि तत्काल अर्को गाइड व्यवस्था गर्ने अवस्था रहेन । रञ्जितले नै ‘हिमालयन एक्सपिडिसन’ कम्पनीका गाइड लाक्पानुरीलाई भेटे । लाक्पा शिखर पुगेर फर्किसकेका थिए । दुईबीच आपसी सहमति भयो । लाक्पानुरीसँग रञ्जित पुनः शिखरतर्फ लागे ।
२३ मे मा तेस्रो शिविर, २४ मेमा चौथो शिविर पुगे । २५ मे को बिहान शिखर चुम्ने लक्ष्यसहित २४ मे को राति उकालो लागे । ८ हजार ६ सय मिटर उक्लिसकेपछि बेपत्ता भए । सोही दिन आरोहण गरेर फर्किएको ‘इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन’ का समूहले उनीहरूलाई चौथो शिविरभन्दा माथि बाटामा भेटेका थिए ।
‘इम्याजिन नेपाल’ का निर्देशक मिङमा शेर्पाका अनुसार, उनीहरूको समूह आरोहणबाट फर्किंदा रञ्जित र लाक्पानुरु दुवै चीनको तिब्बततर्फ खसिसकेका थिए । दुई जना बेपत्ता भएको खबर सुनिसकेपछि आधारशिविरमै रहेका सरकारी सम्पर्क अधिकृत खिमलाल गौतमले सोधखोज गरे । तर, ‘साउथ समिट नजिकै डोरी लत्रेर चीनतर्फ खसको देखेको’ भन्नेसम्म सुने ।
‘आठ हजारमाथि भनेको डेथ जोन हो । चिसो र अक्सिजनको कमीले मस्तिष्कले काम नगर्ने समस्या हुन्छ । अधिकांश आरोहीले पागलपन देखाउने गर्छन् । गाइड तन्दुरुस्त भएन भने जे पनि हुन सक्छ,’ खिमलाल भन्छन्, ‘त्यस्तै कुनै दुर्घटनामा परेको अनुमान गर्न सकिन्छ ।’
त्यो सरप्राइज
यस वर्ष रञ्जित सगरमाथा आरोहणमा गएको कसैलाई थाहै थिएन । रञ्जितले मलाई पनि भनेनन् । एकैचोटि तीन दिनदेखि बेपत्ता भएको खबर थाहा भयो । पदयात्रामा लाङटाङ जाने बेला उनले गाइड नुरुजाङबुलाई भनेका थिए रे, ‘म सगरमाथा जाँदै छु भनेर कसैलाई नसुनाउनुहोला । म सबैलाई सरप्राइज दिन चाहन्छु ।’ तर, उनले साँच्चिकै ‘सरप्राइज’ दिए ।
उनको प्रत्येक यात्राको एक मात्र नारा थियो, ‘हिमाल पहाड तराई, हाम्रो मातृभूमि नेपाल, राष्ट्रिय एकता ।’ मधेशलाई भावनात्मक रूपमा हिमाल र पहाडसँग जोड्ने उनको सपना थियो । यदि उनले सफलतापूर्वक आरोहण गरेका भए मधेश प्रदेश अर्थात् मधेशी समुदायबाटै सगरमाथा आरोहण गर्ने सम्भवतः पहिलो युवा हुनेथिए । न उनलाई मधेश सरकारले चिन्यो । न उनले आफ्नो अभियान सफल पार्न सके । ‘सगरमाथा आरोहण गरेपछि के गर्छौ ?’ उनी भन्थे, ‘म मधेशमा अर्को रञ्जित साह जन्माउन चाहन्छु ।’
सायद रञ्जितको मरण सगरमाथामै लेखिएको रहेछ । त्यसैले उनलाई पागलको संज्ञा दिँदासमेत सगरमाथा चढ्ने सपनाबाट पछि सरेनन् । आरोहणको नशा लागेका धेरै आरोहीको मनमा एउटै कुरा खेल्छ, ‘मर्नैपरे सगरमाथामा खुसीसाथ मरौंला ।’ हो, त्यसरी नै रञ्जित आफ्ना सपनासँगै सगरमाथाको काँधमा बिलाए ।
सगरमाथा त उनले त्यतिखेरै आरोहण गरिसकेका थिए, जतिखेर एउटा सामान्य पान पसले युवाले सगरमाथाको शिखर चुमेको सपना देखेका थिए ।
कान्तीपुरबाट