अत्याधिक गर्मीका कारण रौतहटका विद्यालय बन्द

   १९ जेष्ठ २०८०, शुक्रबार ११:१६  

रौतहट, १९ जेष्ठ । अत्याधिक गर्मीको कारण रौतहटको जनजिवन प्रभावित भएको  छ । केही दिन यता शुरु भएको भिषण गर्मीले बजारमा मानिसहरुको चहल पहलमा निकै कमी आएको छ ।

रौतहटमा तापमान ४४ डिग्री सेल्सीयस सम्म पुगेपछि शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका १८ वटै पालिकालाई गर्मी विदा दिन पत्राचार गरेको छ । विद्यालयमा विद्यार्थीहरु बेहोस हुने तथा लु लाग्ने समस्या आएपछि प्रमुख स्तरीय निर्णयबाट गौर नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई १९ गते शुक्रवार देखी २६ गते सम्म विदा दिएको छ ।
अत्याधिक गर्मीका कारण विद्यालयहरुको पठन पाठनमा समस्या देखिएकोले एक साताका लागी वर्षे विदाबाट कट्टा हुने गरी विदा दिइएको गौर नगरपालिका मेयर शम्भू साहले बताए ।

अत्याधिक गर्मीका कारण सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको सँख्यामा निकै कमी आएको छ । सधै जसो भिडभाड हुने मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीको उपस्थीति पातलिएको छ ।

बिहान सूर्योदय भएको केही घण्टा पश्चात नै तापक्रकम ३६ डिग्री हुने गरेको छ । गर्मीले गर्दा बजारहरुमा पनि मानिसहरुको चहलपहल प्राय बेलुका मात्रै हुन थालेको छ ।