मल लिलामी प्रकरणमा भन्सारबाट गल्ती भयो : प्रमुख नेपाल
७ जेठ, रौतहट । गौर भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्काले बिचौलियाको साठगाँठमा मल लिलाम गरेको भेटिएको छ ।
भन्सार ऐनमा सडीगली जाने, मूल्य घटने, स्थानको अभाव हुने अवश्था भएमा तत्काल लिलाम गर्न सकिने प्रावधानको गलत उपयोग गर्दै नायब सुब्बा रोक्काले ४ कर्मचारीको सहयोगमा मूल्याङ्कन भन्दा आधी मोलमै मलखाद लिलाम गराएका थिए ।
नायब सुब्बा रोक्का सहित शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफ तथा बिचौलियाको मिलोमतोमा प्रमुख भन्सार अधिकृतको अनुपस्थितिमा हतार हतारमा लिलामी प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरीले राजपुरबाट बरामद गरेको ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास को प्रतिवेदनमा २० लाख २ हजार ६० रुपैंया मूल्याङ्कन राखे पनि गौर भन्सारले १० लाख रुपैयाँ मा लिलाम गरेको थियो । कार्यालय प्रमुख बासुदेव नेपाल घर विदामा बसेकै वेला भन्सार कर्मचारीहरुले बिचौलियाको सहयोगमा आर्थिक चलखेल गरेर २ घण्टाका लागी सूचना जारी गर्दै सोमवार बेलुका मल लिलाम गरेका थिए ।

आफु बिदामै बसेको दिन भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व नउठ्ने बहाना बनाएर भन्सारका पाँचै जना नासुहरुले सरसल्लाह गरेर आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन बारम्बार फोन गरेको प्रमुख बासुदेव नेपाल बताए ।
“बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी कार्यालय आएर हतारमा सही गरेको थिए ।” गौर भन्सार प्रमुख बासुदेव नेपालले भने “कार्यालयमा काम गर्ने कर्मचारीहरुले मलाई ’गुड फेथ’ मा लिएर सही गराए ।” मल लिलाम प्रक्रियामा भन्सार कार्यालयबाट गल्ती भएको उनले स्वीकार गरेका छन् । भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले छानबिनको लागि कागजपत्र माग गरेको चिठी आएपछि आफूले कागजपत्र जाँच गर्र्दा त्रुटि फेला परेको प्रमुख नेपालले बताए ।
भन्सार कार्यालयका कर्मचारीको बदमासीका कारण आधा मूल्यमा मल लिलाम भए पछि अहिले जिल्ला प्रशासन कार्यालय रौतहटले सो मुद्दाका सबै कागजपत्र मगाएर छानबिन गरिरहेको छ ।






