सवारी लाइसेन्स १० वर्षमा नवीकरण गर्न ऐन संशोधनको प्रस्ताव

   २८ बैशाख २०८०, बिहीबार १३:५५  

२८ वैशाख, काठमाडौं । सरकारले सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नुनपर्ने गरी प्रस्ताव गरिएको छ ।

हाल ५/५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था झन्झटिलो भएको भन्दै १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो ।
५ वर्षमा नवीकरण गर्नुपर्ने प्रावधानका कारण लाइसेन्स नवीकरण भइरहँदा १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।

नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत लोड कम हुने भएकाले यसो गर्न लागिएको जानकारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले १२ वैशाखमा संसद बैठकमै गराएका थिए ।