रौतहटमा तस्करी फस्टाउँदै
२२ बैसाख, रौतहट । रौतहटमा अवैध तस्करीको संजाल फस्टाउँदै गएको छ ।
भारतबाट तस्करी भएर रौतहट आएको सामान विभिन्न ठाउँमा पुग्दा पक्राउ पर्दै जानुले तस्करीको संजाल फस्टाउँदै गएको पुष्टि भएको छ । तस्करहरुले रातभर प्रहरीकै मिलोमतोमा तस्करी गरिरहेका छन् तर विभागलाई रिझाउन दिउँसोको समयमा प्रहरीले दैनिक जीवन यापनका लागि सर्वसाधारणले ल्याउने सामान समात्ने गरेको छ ।
गत बैसाख ७ मा रौतहटबाट तस्करी भएर गएको करिब ८ लाखको कपडा हेटौँडामा बरामद भएको थियो । गरुडा नगरपालिका ३ का गोपाल सहनीले भारतको बैरगनियाबाट छोरीको बिहेको लागि १६ हजार रुपैयाको कपडा किनेर नेपाल ल्याउँदै गर्दा बैसाख २० गते गौर भन्सार राजस्व तिर्न जाँदा सशस्त्र प्रहरीले कपडा समातेर जफत गरेका छन् । सशस्त्र प्रहरीले आफ्नो कपडा भन्सार कार्यालयसम्म पुग्नै नदिई हातबाट थुतेर जफत गरेको सहनीले आरोप लगाएका छन् ।
सरकारले सिमामा रहेका सशस्त्र प्रहरीका बोर्डर आउटपोस्टको कामलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी नायब उपरिक्षक खटाए पनि उनीहरुले राजश्व वृद्धि तथा तस्करी नियन्त्रण गर्नुको सट्टा तस्करहरुसँगको सेटिङ्गमा अवैध कारोवारलाई बढावा दिएका छन ।
सशस्त्र प्रहरी निरिक्षकको सट्टा डिएसपीलाई बिओपीको कमाण्ड दिदा झनै बेथिति बढेको गौरका व्यापारीहरु बताउछन । मदिरा तथा आर्थिक लेनदेन मार्फत मुख्य तथा सहायक नाकाहरुबाट डिएसपीकै संलग्नतामा तस्करी बढेको छ । रौतहटको ब्रम्हपुरी, वेलविछवा, गौर, बन्जरहा, औरैया, रामपुरखाप, लतमरी, महुलिया, कोपवा, बंकुल लगायतका दर्जनौ नाकाहरु अहिले तस्कारी गर्नेहरुको लागि स्वर्ग बनेको छ ।
गत वर्षको तुलनामा गौर भन्सारमा राजस्व निरन्तर कम भएको तथ्यांकले पनि देखाएको छ । बोर्डर नाकामा तस्करी बढेपछि सशस्त्र प्रहरीले निगरानीको लागि डिएसपि खटाएको छ । भन्सारको मोनिटरिङको लागि खटाएको डिएसपिको काम प्रभावकारी हुन नसकेको गुनासो बढेको छ । डिएसपिको निगरानी हुनुपर्नेमा झन् तस्करसित बार्गेनिङ बढेको र तस्करीको संजाल नै निर्माण भएको पाइएको छ ।

सस्त्र प्रहरीका उच्च अधिकारीको संरक्षणमा सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन हजारौ कार्टुन मदिरा भारत पठाइरहेका छन । लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ ।
सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।
नेपाल भारत सीमा क्षेत्रमा भइरहेको तस्करीबारे गुनासो बढेपछि एआइजि मीरा चौधरीले रौतहट र सर्लाहीमा निरीक्षण गरेकी छन् । एआइजि चौधरीको स्थलगत अनुगमन निरीक्षणको समयमा पूरै सतर्क रहेको प्रहरी युनिटहरु भने एआइजि चौधरी फर्किनासाथ पुरानै लयमा देखिएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाको सुरक्षा निकायका प्रमुखहरुलाई स्पष्ट रुपमा शून्य सहनशीलताको आधारमा तस्करी नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन् । जिल्लाका नाकाहरुलाई आफूले कडाइ गर्न स्पष्ट निर्देशन दिएको प्रजिअ मिश्रले जानकारी गराएका छन् ।
सशस्त्र प्रहरी मधेश प्रदेश छिन्नमस्ता गण बर्दिबासका प्रमुख डिआइजि दिपेन्द्र शाहले बोर्डरमा भइरहेको अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन् । बेलाबेलामा आफू पनि छड्केमा निस्कने गरेको र तस्करीमा संलग्न देखिएकालाई कारबाही गर्ने गरेको डिआइजि शाहले बताएका छन् ।






